पराजित भएपछि पूर्वसभापति केसीको घर अगाडि नाराबाजी



पोखरा । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा अन्तर्घातका कारण यसपटकको चुनावमा पराजय बेहोर्नुपरेको भन्दै कांग्रेस कार्यकर्ताहरूले पूर्वजिल्ला सभापति कृष्ण केसीको घर अगाडि नाराबाजी गरेका छन् ।

कांग्रेस कार्यकर्ताले बिहीबार साँझ पोखरा-१३ बाँझापाटनस्थित केसीको घरमा पुगेर नाराबाजी गरेका हुन् ।

उनीहरूले एमालेसँग ७० लाख रुपैयाँ लिएर केसीले अन्तर्घात गरेको आरोप लगाएका छन् । यस क्रममा उनीहरूले ‘अन्तर्घाती मुर्दावाद, कृष्ण केसी पार्टी छोड्’ भन्दै नाराबाजी गरिरहेका छन् ।

कास्की-१ मा केसी प्रतिनिधिसभा सदस्य उम्मेदवारको आकांक्षी थिए । उनको सट्टामा कांग्रेस कास्की सभापति किशोरदत्त बरालले टिकट पाए । आफूले टिकट नपाएपछि उनले बराललाई असहयोग गर्दै आएका थिए । कास्की १ मा बरालले एमालेका मनबहादुर गुरुङसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

मतगणना भइरहँदा उनी गुरुङसँग पराजित हुने अवस्था देखेपछि कांग्रेस कार्यकर्ताहरू विरोधमा उत्रिएका हुन् । यता कास्की–१(२) मा पनि कांग्रेसका दीपक गुरुङ ‘माइला’ एमालेका बेदबहादुर गुरुङसँग पराजित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्