जनकपुर अञ्चल अस्पतालमा मेसुको मनोमानीः कर्मचारी भर्नालगायतमा लाखौँको अनियमितता



जनकपुरधाम : सेवाबाट अवकाश पाउनै लाग्दा जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामपरिक्षण यादवले प्रक्रिया मिचेर कर्मचारी नियुक्ति गरेका छन् । 

डा. यादवले कात्तिक १८ गते जुनियर मेडिकल रेकर्डर असिस्टेन्टमा डा. उदेश कुमार राय (अधिकारी)लाई नियुक्त गरेका हुन् । उनी अझै एक जना चिकित्सकको नियुक्त गर्ने तयारीमा रहेको बताइएको छ ।  

 

नियुक्ति पाएका डा. राय सोही अस्पतालमा कार्यरत लेखा अधिकृत रामविनयका छोरा हुन् । रायलाई अस्पतालमा जागिर लगाइदिने र डा. यादवले भने अनुसार प्रक्रिया मिलाएर रकम भुक्तानी गर्ने सहमति भएको श्रोतको दाबी छ । 

 

जनकपुर अञ्चल अस्पतालको विकास समिति खारेज भएका कारण निजी श्रोतबाट कर्मचारी नियुक्त गर्न पाइँदैन । तर, डा. रायलाई कात्तिक १८ गते आइतबार चलानी नं.९७९ बाट मेसु डा यादवले प्रक्रिया मिचेर नियुक्ति पत्र दिएका हुन् । 

उनले २०७३ पुस ७ गते विकास समितिमार्फत १८ जना चिकित्सकलाई मासिक १० हजार खाजा खर्च दिएर नियुक्ति गरेका थिए । सो बाहेक विकास समिति खारेज भएपछि पनि २०७५ असोज २९ गतेसम्ममा उनले प्रक्रिया नै पुरा नगरी अवैध रुपले ३६ जना कर्मचारी भर्ना गरेका छन् । 

नातागोता र आर्थिक लेनदेन गरी कर्मचारी भर्ना गर्दा मेसु डा. यादव र कर्मचारीबिच मतभेदसमेत भएको थियो । अस्पतालको गोप्य सूचना सार्वजनिक गरेको भन्दै प्रशासन फाँटका कर्मचारीलाई मेसु यादवले जिम्मेवारीबाटै हटाएका थिए । 

डा. यादव कर्मचारी भर्नालगायत विभिन्न अनियमिततामा संलग्न रहेको अस्पताल श्रोतले बताएको छ । दुई साताअघि जनकपुर अञ्चल अस्पतालमा हाजिर भएका लेखा अधिकृत राय र मेडिकल सुपरिटेन्डेन्ट यादवको मिलेमतोमा मात्रै इन्धन, ल्याब बनाउने प्लाइबोर्ड र  सीसीटिभी खरिदमा लाखौँको अनियमितता भएको छ ।   

अवकाश हुने समय नजिकिएपछि डा. यादवले जेरनेटर र गाडीमा खपत नै नभएको इन्धनको बिल बनाई रकम निकासा गरेको बताइएको छ ।

उनले अस्पतालमा असहाय व्यक्तिका लागि आएको रकम पनि हिनामिना गरेका छन् । साथै, निर्माणाधिन भवन को ठेक्का पाएका ठेकेदारसँग पनि उनले कमिसन खान खोजेको आरोप लगाइएको छ । 

बहिरङ्ग विभाग र अकास्मिक विभागको भवनको काम पुरा नहुँदै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सो भवनको उद्घाटन गरेका थिए ।

२०७४ पुस मसान्तसम्म निर्माण सक्नु पर्ने भवन अझै अस्पताललाई हस्तान्तरण गरिएको छैन । भवन निर्माणका क्रममा हुने अतिरिक्त खर्चबापतको करिब ३० लाख रुपैयाँ हिनामिना गर्न मेसु डा. यादव अहिले दौडधुपमा छन् ।

 

यो विषयमा मेसु डा. यादवसँग जिज्ञासा राख्दा अवकाश पाउन केही साता रहेकाले आफूले विवादमा आउने काम नगरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्