सुदूरपश्चिम प्रदेशमा माओवादी शून्य



काठमाडौँ । सुदूरपश्चिममा माओवादी केन्द्र शून्य भएको छ । १६ प्रतिनिधिसभा रहेको सुदूरपश्चिममा १५ सिटको नतिजा आउँदा माओवादी केन्द्र शून्य भएको हो ।

कांग्रेसबाट कैलाली ४ मा वीरबहादुर बलायर, ५ डिल्लीराज पन्त, कञ्चनपुर २ मा एनपी साउद र ३ मा रमेश लेखक विजयी भएका छन् । डडेल्धुरामा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, अछाम २ मा पुष्प शाह र दार्चुलामा दिलेन्द्र बडू निर्वाचित भइसकेका छन् ।

यहाँ नेकपा एकीकृत समाजवादीलाई ३ क्षेत्र भागमा परेको थियो । तीनै क्षेत्रमा नेकपा एस विजयी भएको छ । डोटीमा प्रेम आले, अछाम १ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी विजयी भएका छन् ।

नागरिक उन्मुक्तिबाट कैलाली १ मा रन्जिता श्रेष्ठ र ३ मा गङ्गा चौधरी निर्वाचित भएका छन् । २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी भारी मतसहित अग्रता बनाइरहेका छन् । उनको जीत करिब निश्चित छ ।

सुदूरपश्चिमका १५ स्थानमा उम्मेदवार खडा गरेको एमालेले प्रतिनिधिसभा तर्फ २ स्थानमा मात्र जीत निकाल्न सक्यो । एमालेबाट कञ्चनपुर १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारी निर्वाचित भएका छन् ।

बाजुरामा एमालेका कर्ण थापा र कांग्रेसका बद्री पाण्डे निर्वाचनमा छन् । थापाले जिते एमालेको संख्या प्रदेशमा ३ पुग्ने छ भने पाण्डेले जिते कांग्रेसको संख्या ८ पुग्नेछ ।

आइतबार सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फ हालसम्म ४३ लाख ९४ हजार २३९ मत गणना सकिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

जसअनुसार कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदातामध्ये समानुपातिकतर्फ एक करोड ९ लाख ७० हजार बढी मतदान भएको अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्