प्रदेशमा एमालेलाई गम्भीर धक्का



काठमाडौं । यस पटक प्रदेशसभाको मत परिणामले पनि कुनै एक दललाई स्पष्ट बहुमत पाउनबाट रोकेको देखिएको छ। केही क्षेत्रबाहेक अधिकांशमा परिणाम सार्वजनिक भइसकेको छ। प्रतिनिधिसभातर्फ सत्ता र विपक्षी दुवै गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसक्ने देखिएका बेला प्रदेशमा समेत यस्तै प्रकृतिको परिणाम आउने देखिएको हो।

२०७४ सालको निर्वाचनमा अधिकांश प्रदेशमा हावी देखिएको नेकपा एमाले यस पटक भने लोकतान्त्रिक–वाम गठबन्धनसँग अधिकांश स्थानमा पराजित भएको देखिन्छ । कांग्रेसलाई भने गठबन्धनले गर्दा यस पटकको निर्वाचन फाइदाजनक देखिएको जारी मत परिणामले देखाएको छ।

२०७४ सालमा प्रदेशमा रहेको आफ्नो कमजोर उपस्थितिलाई कांग्रेसले निकै सुधार गरेको देखिन्छ । प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी)को उपस्थिति भने कमजोर देखिएको छ।

प्रदेश– १ : एमाले पहिलो, सरकार बनाउन भने सकस

प्रदेश– १ को प्रदेशसभामा रहेको ५६ सिटमध्ये ३८ सिटको नतिजा आइसकेको छ । १८ वटा स्थानमा भने मत गणना जारी छ । नतिजा आएका ३८ स्थानमा नेकपा एमालेले १५ स्थानमा जित निकालेको छ भने कांग्रेसले ११, नेकपा (माओवादी केन्द्र)ले ८, नेकपा (एकीकृत समाजवादी)ले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा जितेको छ ।

मत गणना जारी रहेका बाँकी २३ निर्वाचन क्षेत्रमा पनि एमालेको अग्रता १० स्थानमा छ भने कांग्रेस ५, माओवादी केन्द्र १ र नेकपा एस १ स्थानमा अगाडि छन् । एउटा क्षेत्रको प्रारम्भिक मत गणना भने सार्वजनिक भएको छैन । मत परिणामको यही अनुपातलाई आधार मान्ने हो भने प्रदेश–१ मा एमाले पहिलो पार्टी बन्ने देखिएको छ। समानुपातिक मतमा पनि अगाडि नै छ । एमालेले अहिलेसम्म २ लाख १ हजार ३३५ मत पाएको छ भने १ लाख ८९ हजार ४३५ मतसहित कांग्रेस दोस्रो स्थानमा छ ।

६५ हजार मत ल्याएको राप्रपा तेस्रो स्थानमा र ६४ हजार मत पाएको माओवादी तेस्रो र चौथो स्थानमा छन्। यससँगै जनता समाजवादी पार्टी र नेकपा एस पनि ‘थ्रेसहोल्ड’ कटाउने दौडमा छन्।प्रदेशसभामा कुल ९३ सिट रहेको यस प्रदेशमा समानुपातिकतर्फ ३७ सिटको व्यवस्था गरिएको छ।

सरकार बनाउनका लागि यहाँ ४७ सिट आवश्यक पर्नेछ। तर, अहिलेसम्म यस प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याइसकेकाले अब बन्ने सरकारका बारेमा यसै भनिहाल्ने अवस्था छैन । नेकपा एमाले ठूलो दल बन्ने हुँदा एमालेले यहाँ गठबन्धन बनाउन सक्ने अनुमान गरिएको छ ।

मधेस प्रदेश : कसैसँग छैन बहुमत

मधेश प्रदेशमा १० सिटमा विजयी र ४ सिटमा अग्रता लिँदै एमाले पहिलो दल बन्ने दाउमा देखिएको छ। कांग्रेसले ९ सिट जितेको छ भने एक स्थानमा अग्रता लिएको छ। त्यस्तै, जसपा र लोकतान्त्रिक समाजवादी पार्टीले समान ७ सिट जितेका छन् भने जनमत पार्टीले ५ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेका छन्।

मधेस प्रदेशमा रहेका १०७ सिटमा ६४ सिटका लागि प्रत्यक्ष निर्वाचन भएको छ भने ४३ जना समानुपातिकबाट प्रदेशसभा प्रवेश गर्नेछन् । प्रत्यक्षमा एमालेले अग्रता लिए पनि समानुपातिकमा नेपाली कांग्रेसले अग्रता लिएको छ । ९० हजार समानुपातिक मत पाएको कांग्रेस पहिलो स्थानमा रहँदा ७५ हजार मतसहित एमाले दोस्रो र ५९ हजार मत ल्याएको जसपा तेस्रो स्थानमा छ । मधेस प्रदेशको सरकार बनाउन ५४ सिटको बहुमत चाहिन्छ ।

बाग्मती प्रदेश : सत्ता गठबन्धन हावी

११० सिट रहेको बाग्मती प्रदेशमा ६६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् भने बाँकी ४४ सिट समानुपातिकबाट तोकिनेछ । जारी मत गणनामा यस प्रदेशका ५३ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ भने बाँकी क्षेत्रमा मत गणना जारी छ।

२२ सिटमा जित निकाल्दै बाग्मतीमा कांग्रेस पहिलो दल बन्नेतर्फ उन्मुख देखिन्छ भने ११ सिट जितेको माओवादी दोस्रो स्थानमा छ । २०७४ सालमा ४२ सिटमा जित निकाल्दै पहिलो बनेको एमाले भने तेस्रो स्थानमा रहेको छ। एमालेले १० स्थानमा जितेको छ भने ३ स्थानमा आफ्नो अग्रता कायम गरेको छ।

माओवादीको अग्रता १ स्थानमा मात्र रहेकाले एमाले दोस्रो स्थानमा उक्लिने सम्भावना पनि छ। त्यस्तै, ५ स्थानमा जित र ३ स्थानमा अग्रतासहित राप्रपा चौथो स्थानमा रहँदा नेकपा एस पाँचौँ स्थानमा छ। एसले ४ स्थानमा जित र १ स्थानमा अग्रता लिएको छ ।

बाग्मतीमा अब बन्ने सरकारको अनुमान लगाउने हो भने अहिलेको सत्ता गठबन्धनमा राप्रपा पनि समावेश हुने देखिएको छ । समानुपातिकतर्फको मतमा कांग्रेस र माओवादी दोस्रो र चौथो स्थानमा रहेकाले आवश्यक बहुमत पुर्‍याउन सकस पर्ने देखिएको छ । राप्रपाको साथमा भने गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिन्छ । यद्यपि, चुनावी परिणाम पूर्ण रूपमा सार्वजनिक भने भइसकेको छैन ।

गण्डकी प्रदेश : मिलिजुली सरकारको सम्भावना

गण्डकी प्रदेशमा प्रदेशसभाअन्तर्गत ३६ वटा निर्वाचन क्षेत्र छन्। यीमध्ये २ वटा क्षेत्रबाहेक सबैको नतिजा सार्वजनिक भइसकेको। १६ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस गण्डकी प्रदेशसभाको पहिलो दल बन्ने दाउमा छ भने एमाले १२ स्थानमा जित निकाल्दै दोस्रो स्थानमा छ।

त्यस्तै, माओवादीले ५ स्थानमा जितेको छ भने १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। स्याङ्जा– २ मा विवादका कारण मत गणना स्थगित गरिएकाले यस क्षेत्रमा रहेका २ वटा प्रदेशसभाको निर्वाचन क्षेत्रको मत गणना पनि रोकिएको छ। समानुपातिक मतमा भने यस प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ८६ हजार ६४४ मत पाउँदा एमालले २ लाख १२ हजार ६३४ मत पाएको छ। तेस्रो स्थानमा रहेको माओवादीले ९० हजार ८९१ मत पाएको छ। गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ ३६ र समानुपातिकमा २४ गरी ६० सिटको प्रदेशसभा रहेको छ। यस प्रदेशमा सरकार बनाउनका लागि चाहिने ३९ सिट कांग्रेस र माओवादीले नै पुर्‍याउने देखिएको छ। सरकार बनाउन प्रत्यक्षबाट अपुग सांसद समानुपातिक मतबाट पु¥याउने सोचमा सत्ता गठबन्धन छ।

लुम्बिनी प्रदेश : सरकार बनाउनै सकस

लुम्बिनी प्रदेशसभाको ५२ सिटका लागि भएको निर्वाचनमा अहिलेसम्म ४३ सिटको परिणाम सार्वजनिक भएसकेको छ भने ६ स्थानमा मत गणना जारी छ । ३ स्थानमा भने मत गणना सुरु हुन सकेको छैन। अहिलेसम्म जारी भएको मत परिणामअनुसार कांग्रेस र एमालेले समान १५ सिट जितेका छन् भने माओवादीले ४, स्वतन्त्र उम्मेदवारले ३ र जसपा तथा नागरिक उन्मुक्ति पार्टीले २÷२ सिट जितेका छन् । कांग्रेस र एमालेले ३÷३ सिटमा आफ्नो अग्रता कायम गरेका छन् ।

२०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेशसभाका लागि एमालेले २७, माओवादीले १५ र कांग्रेसले ७ सिट जितेका थिए। हालसम्म दलहरूले पाएको समानुपातिक मतको आधारमा ३ लाख १ हजार ४२२ मतसहित एमाले पहिलो स्थानमा छ । नेपाली कांग्रेस २ लाख ७० हजार २५३ मतसहित दोस्रो, १ लाख ८ हजार ८४५ मतसहित पाएको माओवादी तेस्रो स्थानम छन् । त्यस्तै, ७३ हजार ४९७ पाएको राप्रपा चौथो स्थानमा छ।

प्रदेशसभामा रहेका ८७ सिटमध्ये ५२ सिटका लागि प्रत्यक्षतर्फको निर्वाचन भएको छ भने ३५ सिट समानुपातिक मतभारको आधारमा छुट्याइनेछ । सरकार बनाउनाका लागि यस प्रदेशमा ४४ सिट आवश्यक पर्नेछ । यहाँ सत्ता गठबन्धनको मात्र सिट सङ्ख्याले सरकार बन्ने सम्भावना देखिएको छैन । एमाले एक्लै पनि सरकार बनाउने अवस्थामा छैन ।

कर्णाली प्रदेश : गठबन्धनको स्पष्ट बहुमत

४० सिट रहेको कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस र माओवादी केन्द्र पहिलो दल बन्ने दौडमा रहेका जारी मत गणना र त्यसको परिणामले देखाएको छ। प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा यो सामग्री तयार पार्दासम्म माओवादीले ७ र कांग्रेसले ६ सिट जितेका छन् भने एमालेले ४ र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

समानुपातिक मतमा भने यस प्रदेशमा माओवादी पहिलो स्थानमा देखिएको छ । माओवादीले अहिलेसम्म ५५ हजार ६३७ मत पाएको छ भने दोस्रो स्थानमा रहेको एमालेले ४५ हजार ६३४ मत ल्याएको छ । ३५ हजार मतका साथ कांग्रेस तेस्रो स्थानमा छ । यहाँको मत गणना जारी छ, जसमा कांग्रेसले ३, माओवादीले १ र एमालेले २ स्थानमा अग्रता कायम गरेका छन् ।

अग्रता र समानुपातिक मत परिणामको आधारमा यहाँ कांग्रेस र माओवादीमध्ये कुनचाहिँ पहिलो भन्नेमा अझै यकिन भइसकेको छैन । यहाँ एकीकृत समाजवादीले भने कुनै पनि स्थानमा जित निकाल्न सकेन ।
सत्ता साझेदार दलको गठबन्धन जारी रहने हो भने कर्णालीमा अब बन्ने सरकार कांग्रेस र माओवादीको सहकार्यमा हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले थियो । एमालेले १४ स्थानमा जित निकाल्दा कांग्रेसले मात्र १ सिट जितेको थियो । कर्णालीमा सत्ता गठबन्धनको स्पष्ट बहुमतको सरकार बन्ने देखिएको छ ।

सुदूरपश्चिम प्रदेश : सत्ता गठबन्धन बलियो

सुदूरपश्चिम प्रदेशकासभाका ३२ मध्ये ३० सिटको नतिजा सार्वजिनक भइसक्दा नेपाली कांग्रेस पहिलो स्थानमा देखिएको छ । बाजुरामा रहेका २ वटा निर्वाचन क्षेत्रमा भने मत गणना सुरु भएको छैन।पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस अहिलेसम्म ११ क्षेत्रमा विजयी हुँदा माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टी ५ र नेकपा एस २ क्षेत्रमा विजयी भएका छन्।

यस प्रदेशमा एमाले नागरिक उन्मुक्ति पार्टीभन्दा पनि तल परेको छ । २०७४ सालमा सुदूरपश्चिममा १७ सिट जितेको एमाले यस पटक भने ३ सिटमा खुम्चिएको छ । प्रत्यक्षतर्फ चौथो स्थानमा रहेको एमाले समानुपातिक मतमा भने पहिलो बनेको छ।

पछिल्लो परिणामअनुसार एमाले ९३ हजार ८३२ मतका साथ पहिलो स्थानमा रहेको छ भने ८७ हजार १५० मत पाएको कांग्रेस दोस्रो स्थानमा छ। त्यस्तै, माओवादी तेस्रो र नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा छन्।

५३ सिट रहेको सुदूरपश्चिम प्रदेशसभामा ३२ सिट सांसद प्रत्यक्ष र १६ सांसद समानुपातिकबाट छानिनेछन् भने सरकार बनाउनका लागि २७ सांसदको आवश्यकता पर्छ। यस प्रदेशमा सरकार बनाउनका लागि सत्ता गठबन्धनमा रहेका दलहरूले प्राप्त गरेको सिट पर्याप्त हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्