मधेश प्रदेशका ४ स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?



जनकपुरधाम । मधेश प्रदेशमा ८ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब ४ स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ। नतिजा आउन बाँकी ४ स्थानमध्ये १ स्थानमा नेपाली कांग्रेस, २ स्थानमा माओवादी केन्द्र र १ स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अगाडि छन्।

निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ७/७ स्थानमा जितेको छ। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार ५ क्षेत्रमा निर्वाचित भएका छन् । अहिलेसम्म कुनै पनि स्थानमा जीत निकाल्न नसकेको माओवादी केन्द्रका उम्मेदवार २ स्थानमा अगाडि छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ३, स्वतन्त्रले ३, एकीकृत समाजवादीले २ र जनमत पार्टीले १ स्थानमा जीत निकालेको छ । एमालेका ७ उम्मेदवार क्रमशः सिरहा क्षेत्र नम्बर १ मा रामशंकर यादव, धनुषा ३ मा जुली महतो (महासेठ), सर्लाही ३ मा हरिप्रसाद उप्रेती, बारा १ मा अच्युतप्रसाद मैनाली, पर्सा ३ मा राजकुमार गुप्ता, सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा लिलानाथ श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नम्बर ३ मा ज्वालाकुमारी साह निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार विभिन्न जिल्लाका ७ स्थानमा निर्वाचित भएका छन् भने परिणाम आउन बाँकी १ स्थानमा अगाडि छ।

अहिलेसम्म निर्वाचित हुने कांग्रेस उम्मेदवारमा सप्तरी क्षेत्र नम्बर ३ मा दिनेशकुमार यादव, धनुषा क्षेत्र नम्बर २ मा रामकृष्ण यादव, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, पर्सा ४ मा रमेश रिजाल, सप्तरी ४ मा तेजुलाल चौधरी र महोत्तरी ४ मा महेन्द्रकुमार राय छन् । धनुषा ४ मा सहमहामन्त्री महेन्द्र यादव अगाडि छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार ५ स्थानमा निर्वाचित भएका छन् भने १ स्थानमा अगाडि छन् ।

जसपाबाट सप्तरी १ मा नबलकिशोर साह, सिरहा ४ मा वीरेन्द्रप्रसाद महतो, पर्सा १ मा प्रदीप यादव, बारा–२ मा रामसहायप्रसाद यादव र सिरहा–२ मा राजकिशोर यादव निर्वाचित भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा उम्मेदवार दीपक कार्कीले अग्रता कायम गरेका छन् । यहाँ माओवादी केन्द्रका उपमहासचिव मातृका यादव शुरूदेखि नै पछाडि छन् । माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले अहिलेसम्म जीत निकालेका छैनन् तर २ क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा महेन्द्र राय यादव र महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा गिरिराजमणि पोखरेल अगाडि छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार ३ क्षेत्रमा निर्वाचित भएका छन् । महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ मा रामप्रकाश चौधरी र महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीका २ उम्मेदवार निर्वाचित भएका छन् ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ र कृष्णकुमार श्रेष्ठ बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् । जनमत पार्टीले पनि १ स्थानमा जीत निकालेको छ । पार्टी अध्यक्ष डा. सिके राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । ३ क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा अमरेशकुमार सिंह, रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा किरण कुमार साह र रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभु साह रहेका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधि सभातर्फको ३२ सिटका लागि विभिन्न दलका २९३ र स्वतन्त्र २९७ गरी ५९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्