सामाजिक सञ्जालमार्फत ठगी गर्ने सात जना पक्राउ



विराटनगर : सामाजिक सञ्जालमार्फत ठगी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भाईवर, ह्वाटसप र इमो मार्फत चिट्ठा प¥यो भनी ठगी गर्ने गिरोहमा संलग्न तीन भारतीयसहित सात जनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान सुरु गरेको हो । 

ठगीमा परेकाको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले बुधवार पाँच भारतीय सहित ९ जनालाई पक्राउ गरेको थियो । तर, दुई भारतीयको संलग्नता नदेखिएपछि उनीहरुलाई प्रहरीले छाडिदिएको छ ।  

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरुमा भारत विहार अररिया जिल्ला फारबेसगन्ज बस्ने २५ वर्षीय मनोजकुमार ठाकुर,  सोही ठाउका २३ वर्षीय चन्दनकुमार भगत र २८ वर्षीय पंकजकुमार साह छन् ।

भारतीय नागरिकलाई पैसा पू¥याएर सहयोग गर्ने कटहरी गाउँपालिका ४ का २० वर्षीय खगेन्द्रप्रसाद रौनियार, २२ वर्षीय प्रेमकुमार साह, २५ वर्षीय रमेशकुमार साह र जहदा गाउँपालिका ७  का २०  वर्षीय टुनटुन शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । बुधवार पक्राउ परेका भारतीय नागरिक अमित कुमार, रविन कुमारको संलग्नता नदेखिएपछि छाडिएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरुले विभिन्न व्यक्तिहरूबाट १६ लाख ५७ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेकाहरुले इमो भाइबर ह्वाटसप लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई ठुलो धनराशिको चिट्ठा परेको भन्दै फोन गरेर चिट्ठा बापतको रकम प्राप्त गर्न कर तिर्नुपर्ने भन्दै प्रभावमा पारेर रकम असुल गर्ने गरेका थिए । 

‘कर, बैङ्किङ प्रक्रिया तथा सेवा शुल्क समेतको लागि केही रकम जम्मा गरे पश्चात् मात्र रकम प्राप्त गर्न सकिने भन्दै  ठगी गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद नेपाली रुपैयाँ ३५ हजार, भारु ३० हजार, मोबाइल फोन र न्युज क्लाइम २४ डटकम बाट जारी भएको प्रेस प्रतिनिधि कार्ड पनि बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्