जनमत पार्टीको अवरोधले महोत्तरी १ को मतगणना अवरुद्ध



काठमाडौँ । महोत्तरी १ को मतगणना अवरुद्ध भएको छ । समानुपातिक मतगणनाको मतपरिणाम सही नभएको भन्दै जनमत पार्टीले विवाद गरेपछि मतगणना एक घण्टादेखि रोकिएको हो। ‘गणनाका क्रममा जनमत पार्टीको मत भएभन्दा कम भयो त्यसैले अहिले हामीले मतगणना स्थगित गरेर छलफल गर्न अनुरोध गरेका छौ’ जनमत पार्टीका नेताले भने।

महोत्तरी १ मा कहिले क्रस मत त कहिले बदर मतका विषयमा यत्तिकै पनि मतगणना सुस्त बनिरहेको बेला जनमत पार्टीको विवादले मतगणना थप लम्बिएको छ। निर्वाचन अधिकृत गुणराज श्रेष्ठका अनुसार छलफलबाट सहमति जुटाउन अहिले जनमत पार्टीका नेताहरूलाई बोलाइएको छ। तर, जनमत पार्टीले मतको विषयमा मतगणनास्थलमा घटबढ गरेको भन्दै नाराबाजी गरिरहेको छ। जनताको मतको कदर गर्नुपर्ने उनीहरूको माग छ। समानुपातिकमा मत पुनःगणाना गर्नुपर्ने जनमत पार्टीका नेताहरूले अडान छ।

क्रस मतलाई समेत सदर गर्ने सर्वदलीय सहमति भएपछि समानुपातिक र प्रत्यक्ष एक साथ गणना गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए। क्षेत्र नम्बर १ (ख)को मतपरिणाम सार्वजनिक भइसकेको छ भने (क) तर्फ बर्दीबास १३, १४ र भंगाहा नगरपालिकाको ४ वटा वडा मतगणना गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्