नयाँ अनुहारसँगका अपेक्षा



काठमाडौं । भावी संसद्मा २७ देखि ८० वर्षसम्मका जनप्रतिनिधिका अनुहार देखिँदै गर्दा यतिबेला कसले सरकार बनाउने ? कसको सरकार बन्ने विषय प्राथमिकतामा छ। अहिलेसम्मको गणितले सत्ता गठबन्धन विस्तारै सुविधाजनक बहुमततिर गएको देखिन्छ।

गठबन्धन कायम रहे वर्तमान सत्ता गठबन्धनको सरकार त बन्नेछ नै तर नेतृत्व कसले गर्ने भन्ने विषयमा केही दिन माथापच्ची हुनु बेग्लै कुरा हो। सरकार बन्नु र संसद् चल्नु स्वाभाविक प्रक्रियाभित्र छन्। तर, पर्खाइ भने यस पटक विभिन्न पेसा व्यवसायबाट प्रतिनिधित्व गर्नेदेखि लिएर विद्यार्थी राजनीतिबाट उदाएका युवा पुस्ताको बलियो उपस्थिति भने अवश्य छ। यी युवाको उपस्थिति पुरातन मान्यताको पछि हुन्छ कि अघि भन्ने प्रश्नचाहिँ अब अहं बन्न पुगेको छ।

स्थानीय तहको नेतृत्व गरेको अनुभव, विद्यार्थी सङ्गठनको नेतृत्व गरेको अनुभव, व्यवसायको अनुभव, स्टार्टअपको अनुभवदेखि सञ्चारकर्मसम्मको अनुभव संसद्मा देखिँदै गर्दा उनीहरूले नीति निर्माण तहमा गर्ने हस्तक्षेप कस्तो रहन्छ भन्ने विषयले उनीहरूको राजनीतिक भविष्य निर्धारण गर्नेछ। हिजो आफूले नेतृत्व गरेको स्थानमा अब्बल भएकै कारण पार्टी हुँदै जनताले पत्याएका कारण उनीहरूको संसद् यात्रा तय भएको हो। तर, हिजो सफल भएको क्षेत्रभन्दा पृथक् क्षेत्रमा पुगेर पनि सफल बन्नु महत्वपूर्ण हुन्छ। नयाँ अनुहारलाई अवको ५ वर्षमा संसदीय पद्धति र त्यसभित्र हुने राजनीतिक हस्तक्षेप र खिचातानीबारे अनुभव लिनुपर्ने चुनौती छ ।

केही गर्छु भनेर आस देखाएर जितेका युवा र नयाँ अनुहारले दलीय ह्वीपभन्दा माथि उठ्न सक्ने अवस्था त नहोला तर विगतमा नेतृत्वले जे भन्छ, त्यसैमा सही धस्काउने परम्पराको अन्त्य गर्न भने अवश्य सक्नुपर्छ। पार्टीका तर्फबाट संसदीय दलको नेता छान्ने क्रमदेखि नै उनीहरूको परीक्षा सुरु हुनेछ।

शीर्षस्थ नेताको प्रस्तावलाई खुरुखुरु अनुमोदन गरेकै कारण विगतमा नयाँ र युवा भनिएका अनुहारले काम गर्न नसकेको अवस्थाबाट पाठ सिक्दै कम्तीमा जनजीविका र राजनीतिक परिवर्तनपछिका उपलब्धिलाई रक्षा गर्ने बाटोमा नयाँ पुस्ताले हस्तक्षेप गर्न सक्नुपर्छ।

संसद् भनेको विकास निर्माण गर्ने थलो हो भन्ने आमबुझाइलाई चिर्न र नीतिगत काममा मात्र संसद्लाई केन्द्रित गराउन युवा र विभिन्न क्षेत्रबाट पहिलो पटक प्रवेश हुँदै गरेका संसद्ले यस पटक हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने अपेक्षा छ । आशा गरौँ, यो आमअपेक्षामा यस पटक युवा र नयाँ अनुहारले निराश बनाउनेछैनन्।

प्रतिक्रिया दिनुहोस्