नर्भिकमा युरोलोजी टिमको निःशुल्क ओपीडी



काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म २ जना विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको हो । शनिबारको निःशुल्क ओपीडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता दिएको छ ।

नर्भिकले विगत लामो समयदेखि युरोलोजी टिमकै विशेष निःशुल्क ओपीडी अभियान सञ्चालन गरिरहेको छ । सर्वसाधारणबाट माग आएपछि प्रत्येक शनिबारको अभियान जारी राखिएको अस्पतालले जनाएको छ । आउने शनिबार युरोलोजी विशेषज्ञद्वय डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यस टिमले गर्नेछ ।

मिर्गौला, मुत्रनली तथा मुत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरूले यस ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरूलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मुत्रथैलीमा पलाएको ट्युमरको समेत नर्भिकमा उपचार हुने गरेको छ ।

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्सएप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्