धाँधली भएको भन्दै एमालेले माग्यो उदयपुर १ मा पुन: मतदान



उदयपुर । नेकपा एमाले, राप्रपा, जसपासहित केही दलले धाँधली भएको भन्दै उदयपुर-१ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन रद्द गरी पुन: मतदानको माग गरेको छ । खसेको भन्दा बढी मत खसेको भन्दै उनीहरुले अहिलेसम्मको निर्वाचन प्रक्रिया रद्द गरी पुनस् मतदानको माग गरेका हुन् ।

एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार रहेकी मञ्जु चौधरी, प्रदेशसभाका उम्मेदवार कुशलबाबु श्रेष्ठ र ईश्वरमणि राउत र राप्रपा, जसपा, जनता प्रगतिशील पार्टी, केही स्वतन्त्र उम्मेदवार गरी १५ जनाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

साथै मतदाताले मतदानका क्रममा प्रतिनिधिसभाको मतपत्र नपाएको र प्रदेशसभाको मतपत्र एकै व्‍यक्तिले दुई पटक प्रयोग गरेको पनि उनीहरुले उल्लेख गरेका छन् । मतगणना अन्तिम चरणमा पुगेका बेला एमालेसहितका दलले मतगणना रोकेर पुन: मतदान माग गरेका हुन् ।

दिउँसो सवा ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरू हुने भनिए पनि मतगणना हुन नसकेको मुख्य निर्वाचन अधिकृ कृष्णप्रसाद सुवेदीले बताए । उनका अनुसार कुल ७६ हजार ७५६ मत खसेको उदयपुर-१ मा ६३ हजार ८० मत गणना भइसकेको छ ।

हालसम्मको गणनामा कांग्रेसका डा.नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन् । खड्काले २७ हजार ४८४ र एमालेकी मञ्जुकुमारी चौधरीले २५ हजार ६५९ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्