पूर्वपरराष्ट्रमन्त्रीहरूलाई फापेन निर्वाचन



काठमाडौं । यस पटकको निर्वाचन पूर्वपरराष्ट्रमन्त्रीहरूका लागि घातक बनेको छ। प्रभावशाली मन्त्रालय सम्हालेका नेताहरूका लागि निर्वाचन परिणाम तगारो भएको छ। प्रत्यक्ष निर्वाचन प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेताहरू पराजित भए। कांग्रेस नेत्री सुजाता कोइराला, एमाले नेता प्रदीप ज्ञवाली, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष कमल थापाको संसद् यात्रामा ‘ब्रेक’ लागेको छ।

आफ्ना पिताको निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी नेत्री कोइराला एमालेका ऋषिकेश पोखरेलसँग १ हजार २०८ मतले पराजित भएकी छन्। पोखरेलले ३३ हजार १४८ मत प्राप्त गर्दा कोइराला ३१ हजार ९४० मतमा सीमित बनेकी छन्। उनी तत्कालीन माधवकुमार नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन्।

यस पटकको निर्वाचनमा एमालेबाट परराष्ट्रमन्त्री बनेका प्रदीप ज्ञवाली पराजित भएका छन्। सफल परराष्ट्रमन्त्री भनेर चिनिएका ज्ञवाली गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्य पराजित भए। उनलाई १ हजार ६२२ मतले पछि पार्दै कांग्रेस नेता डा. चन्द्रकान्त भण्डारी निर्वाचित भएका छन्। ३३ हजार ७७४ मतसहित भण्डारी विजयी हुँदा एमाले उपमहासचिवसमेत रहेका ज्ञवाली ३२ हजार १५२ मतमा खुम्चिएका छन्।

यस पटकको निर्वाचनका चर्चित पात्रमध्येका एक राप्रपा नेपालका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापा पूर्वविश्वासपात्र दीपकबहादुर सिंहसँग दौडमा अघि बढ्न सकेनन्। सुरुआती गणनामा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)सँग प्रतिस्पर्धामा रहेका थापा अन्तिम मत परिणाममा सिंहसँग फराकिलो मतान्तरले पछि परे।

थापालाई २ हजार ३९१ मतले पछि पार्दै सिंह प्रतिनिधिसभाको यात्रामा सफल बनेका छन् । सिंहले २७ हजार ८५१ मत प्राप्त गर्दा कांग्रेस नेत्री उपाध्यायले २५ हजार ६८३ मत पाइन् भने थापा २५ हजार ४६० मतमा खुम्चिएका छन् । राप्रपा परित्याग गर्दै संसद् छिर्ने महत्वाकाङ्क्षा लिएर एमालेको सूर्य चिह्नबाट प्रतिस्पर्धामा उत्रिएका थापालाई यो निर्वाचन निकै बोझिलो बनेको छ।

मधेस प्रदेशको बलियो राजनीतिक शक्ति जससाले यस निर्वाचनमा ठूलो क्षति बेहोरेको छ। जसपा अध्यक्ष पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवले ठूलै धक्का बेहोरेका छन् । मधेस राजनीतिमा उदाउने तरखर गर्न थालेको जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गरे । यादव २०६५ सालमा परराष्ट्रमन्त्री र २०६७ सालमा उपप्रधानसहित परारष्ट्रमन्त्री बनेका थिए ।

वर्तमान परराष्ट्रमन्त्री डा. नारायण खड्का उदयपुर– १ बाट निर्वाचन प्रतिस्पर्धामा छन् । यो समाचार तयार गर्दा उनी एमाले नेत्री मञ्जुकुमारी चौधरीभन्दा अगाडि छन्। खड्काले २१ हजार ८३३ मत प्राप्त गर्दा चौधरीले २० हजार १२० मतसहित उनलाई पछ्याइरहेकी छन् ।

यस पटक केही पूर्वपरराष्ट्रमन्त्रीहरू भने समानुपातिक सूचीमा छन् । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा, राप्रपाका नेताद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर राणालाई पार्टीले समानुपातिक सूचीमा राखेकाले उनीहरूको संसद् यात्रा लगभग सुनिश्चित रहेको दुवै पार्टी निटक स्रोतले जनाएका छन् । कांग्रेस प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत पनि यस पटक समानुपातिकको सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्