दुवै हातमा लड्डु : प्रदेश झर्दा मुख्यमन्त्री, सङ्घमा उक्लिँदा मन्त्री !



काठमाडौं । २०७४ सालको आमनिर्वाचनमा मुख्यमन्त्री बन्ने रहरले केन्द्रीय सांसद बनेका नेताहरू प्रदेशसभा सदस्य बन्न प्रदेश झरे। लामो राजनीतिक यात्रामा बल्लबल्ल एक पटक मन्त्री बनेका उनीहरू सङ्घीय संरचनापछि लामो राजनीतिक यात्रा र पार्टीमा गरेको योगदानको फल मुख्यमन्त्रीको रूपमा पाइने अपेक्षा गर्दै प्रदेश झरेका उनीहरू मुख्यमन्त्री बन्न पनि सफल भए।

अहिले तिनै नेताहरू आफ्नो अपेक्षा पूरा भएपछि फेरि केन्द्रमा नै फर्किएका छन् । एमाले नेता तथा गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश– १ मा २ महिनाका लागि मुख्यमन्त्री भएका एमालेकै अर्का नेता भीमप्रसाद आचार्य, कर्णालीका संस्थापक मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाही र बाग्मती प्रदेशका बहालवाला मुख्यमन्त्री तथा एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी) रोजेका राजेन्द्र पाण्डे अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सङ्घीय यात्रा तय भएसँगै एमालेका गुरुङ र आचार्यबाहेक अन्य सबै विजेता पुन सङ्घीय मन्त्रीको लाइनमा पुगेका छन् । वर्तमान सत्ता गठबन्धनकै निरन्तरता भएको अवस्थामा यही गठबन्धनको संयुक्त सरकार बन्ने र मुख्यमन्त्री भइसकेका २ वटै अनुहार शाही र पाण्डे पुनः मन्त्री बन्ने पक्कापक्की जस्तै देखिएको छ । कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री तथा माओवादी नेता महेन्द्रबहादुर शाहीले प्रदेशसभा हुँदै प्रतिनिधिसभाको यात्रा तय गरेका छन् ।

२०७४ सालको निर्वाचनमा कालीकोट– १ ‘ख’बाट प्रदेशसभामा निवार्चित भएका शाही अहिले कालीकोट– १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचीत भएका छन् । २०७४ सालमा १२ हजार १५३ मतका साथ विजयी भएका शाही अहिले २३ हजार ७२७ मत ल्याउँदै विजयी भएका छन्। प्रदेशसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई हराएका उनले यस पटक भने कांग्रेसकै साथ पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नगेन्द्र शाही थिए । नगेन्द्र शाहीले भने १९ हजार २३० मत मात्र ल्याए।

महेन्द्रबहादुर शाही २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कालीकोटबाट प्रत्यक्षमा निर्वाचित भएका थिए । उनले केन्द्रमा ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्। अर्का संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गण्डकी प्रदेशमा आधाभन्दा बढी कार्यकाल मुख्यमन्त्री रहेका गुरुङ लमजुङ– १ बाट ३४ हजार ९६९ मतका साथ विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका देव गुरुङलाई पराजित गरे ।

२०७४ सालको निर्वाचनमा लमजुङ– १ ‘ख’बाट २३ हजार ८८ मत ल्याउँदै १५ हजार १०२ मत पाएका कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई हराएका थिए। गुरुङ पहिलो संविधानसभाको निर्वाचनमा पनि लमजुङको तत्कालीन क्षेत्र नम्बर– २ बाट सांसदमा निर्वाचित भएका थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत बनेका थिए । २०७४ सालमा भने उनी केन्द्र छाडेर प्रदेश झरेका थिए ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीबाट लगातार विजयी भएका भीम आचार्यले २०७४ सालको निर्वाचनमा भने प्रदेशबाट चुनाव लडे। केन्द्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका आचार्य २०७८ सालमा २ महिनाका लागि मुख्यमन्त्रीसमेत बने । उनै आचार्य यस पटकको निर्वाचनमा भने प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् । २०७४ सालमा कांग्रेसका बुद्धिबहादुर कटुवाललाई पराजित गरेका उनले संसदीय यात्राका लागि अहिले १९ हजार २२३ मत ल्याउँदै कांग्रेसका सीताराम महतोलाई पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा ४ पटक निर्वाचित भइसकेका राजेन्द्र पाण्डे २०७४ सालको आमनिर्वाचनमा भने मुख्यमन्त्रीको आसमा प्रदेश झरेका थिए । उनै पाण्डे अहिले केन्द्रमा उक्लिएका छन् । बाग्मती प्रदेशका वर्तमान मुख्यमन्त्रीसमेत रहेका उनी २०७४ सालमा धादिङ– १ ‘क’मा तत्कालीन नेकपा एमालेबाट २७ हजार ३३२ मत ल्याई बाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए ।

एमाले छाडेर एकीकृत समाजवादी गएका पाण्डे धादिङबाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार बनेका हुन् । उनले धादिङ– १ बाट ३५ हजार ९३४ मत ल्याउँदै एमालेका भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् । केन्द्रमा एक पटक स्थानीय विकासमन्त्री बनिसकेका पाण्डे यसअघि २०४८, २०५१, २०५६ र २०७० सालमा प्रतिनिधिसभा सदस्य बनिसकेका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले हार बेहोरेका थिए ।

र, अन्य मुख्यमन्त्री…

बाग्मती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले यस पटकको निर्वाचनमा सहभागिता जनाएनन् भने सुदूरपश्चिमका बहालवाला मुख्यमन्त्री त्रिलोचन भट्ट र गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भने टिकट नै पाएनन् । कर्णालीका पहिलो मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला– १ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए भने मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पर्सा– १ ‘ख’बाट प्रदेशसभाका लागि निर्वाचित भएका छन् ।

प्रदेश– १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई पनि भोजपुर– १ ‘क’बाट प्रदेशसभा सदस्यमा चुनिएका छन् । त्यस्तै, प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका प्रदेश– १ र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई र शङ्कर पोखरेल क्रमशः भोजपुर– १ र दाङ– २ बाट पराजित भएका छन्।

प्रतिक्रिया दिनुहोस्