कुनै पनि दलको बहुमत नआउनु मुलुकका लागि दुर्भाग्य : विष्णु पौडेल



रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा कुनैपनि राजनीतिक दलको बहुमत नआउनु मुलुकका लागि दुर्भाग्य भएको बताएका छन् ।

सोमबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यो भने, ‘नेकपा एमालेले बहुमत ल्याउने गरी चुनावमा होमिएको थियो तर सकिएन । हामीले नल्याए पनि अरू कसैले बहुमत ल्याउनुपर्थ्यो, सकेनन् । यो मुलुकको लागि दुभाग्यपूर्ण हो । तर पनि एमालेको नेतृत्वमा सरकार बनाउन हाम्रो प्रयास रहने छ ।’

के को सँग मिलेर सरकार बनाउने भन्नेबारे भने पौडेलले प्रष्ट खुलाएनन् । कसैको पनि बहुमत नआउँदा मुलुकमा राजनीतिक अस्थिरता पैदा हुने उनको भनाई छ । अग्रगामी एजेन्डासहित सरकार बनाउने कोसिस एमालेले गर्ने पौडेलले उल्लेख गरेका छन् । रुपन्देही क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी पौडेलले पार्टीले आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गर्ने बताएका छन् ।

रुपन्देही २ बाट नवनिर्वाचित पौडेलले आम मतदातालाई धन्यवाद पनि दिएका छन् । नेकपा एमालेलाई पराजित गरेर संसद्मा कमजोर बनाउन चाहने शक्तिहरूले एमालेका कयौँ संसद्मा आउनै पर्ने नेताहरूलाई हराएको उनको टिप्पणी छ । हार बेहोरेका नेताहरूले संसद् बाहिरबाटै पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्