समानुपातिकतर्फ ९३ लाख मत गनियो, एमालेले कटायो २५ लाख



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख ५ हजार ७ सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा एमालेले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७ सय १८, नेकपा (माओवादी केन्द्र)ले १० लाख ६२ हजार सात सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार छ सय ५६, जनता समाजवादी पार्टीले ३ लाख २६ हजार तीन सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले २ लाख ६२ हजार ८ सय २६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ५२ हजार २७ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् ।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २७ हजार नौ सय १८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार आठ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार ८ सय ४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार छ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८ सय ७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार दुई सय २९ र नेकपा (माले)ले २६ हजार नौ सय ७१ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार छ सय ९४ मत प्राप्त गरेको छ ।

त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नं १ मा १५ लाख ८४ हजार आठ सय ६९ मतगणना भइसकेको छ । मधेश प्रदेशमा १६ लाख २५ हजार ७ सय ५८, वाग्मती प्रदेशमा १५ लाख ९८ हजार ४ सय ३४, गण्डकी प्रदेशमा नौ लाख १८ हजार ८ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ७ हजार १ सय ३८ मत गणना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्