सुकुम्बासी बस्ती हटाउन पुगेको प्रहरी र स्थानीयबीच झडप, १४ जना घाइते



काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगर प्रहरी बल र स्थानियबीच झडप भएको छ । स्थानीयसँगको झडपका क्रममा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिएका छन् ।

घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नर्भिक अस्पतालका सुरक्षा अधिकृत रामकृष्ण बलामीका अनुसार १९ जना घाइतेलाई अहिले उपचारका लागि ल्याइएको छ ।

वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । स्थानीयहरुले घरेलुहतियार सहित प्रदर्शन गरेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको हो । सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । हंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह (बालेन्द्र) विरुद्ध चर्को नारावाजी गरिरहेका छन् । उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्