किसानले अझै पाएनन् मल



कैलाली । कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसेका थिए। हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उनी मलका लागि लाइनम बसेका हुन् ।

किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो। ‘खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ। सहज रूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको छैन,’ उनले भने, ‘बजारमा मल पाइँदैन। सहकारीहरूले पनि आफ्ना शेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन्। मल नहालेर उब्जनी हुँदैन ।’ सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाडेका छन् । उनी मल नपाएपछि गहुँ छर्ने काम हुन नसकेको बताउँछन् ।

‘खेत जोतेको हप्ता दिनभन्दा बढी भइसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन,’ उनले भने, ‘बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जाँगर पनि लाग्दैन ।’ भजनी नगरपालिका–६ का सुरेश कठरिया खेतीपाती सकेर कमाउनका लागि बाहिर जाने तयारीमा छन् । हिउँदे खेती लगाइसकेपछि ४–५ महिना घरमा खाली बस्नुपर्ने भन्दै त्यो समयमा ज्याला मजदुरी गरेर घरको अन्य खर्च टार्नका लागि कमाउन जाने तयारीमा रहेका सुरेशलाई मल नपाउँदा समस्या भएको छ।

उनले १५ बिघा क्षेत्रफलमा खेती गर्दै आएकोमा जसोतसो ५ बिघा मात्रै गहुँ छर्न सफल भएको बताए। ‘समयमै मल पाएको भए सबै खेतमा गहुँ छरिसकिन्थ्यो । मल नहालेर गहुँ छरेभन्दा नछरेजस्तै हो,’ उनले भने, ‘मल नपाउँदा यता खेती पनि सयममा लगाउन सकिएन भने उता कमाउन जाने भनेको ठाउँमा पनि जान सकिएको छैन ।’ भजनीका गणेश साउँदको समस्या पनि उस्तै छ ।

उनले हिउँदे बाली लगाइसके तर निकै मेहनत गरेर। स्थानीय बजारमा रासायनिक मल नपाएपछि निकै कष्टका साथ छिमेकी बजार भारतबाट मल ल्याएर खेती लगाउनुपरेको उनको भनाइ छ। ‘स्थानीय बजारमा मल पाइएन। मल भएका सहकारीले हामीलाई मल दिएन,’ उनले भने, ‘नभन्नुपर्ने कुरा हो तर लुकीचोरी भारतबाट मल ल्याएर खेती लगाउनुपर्ने बाध्यता भयो।’

स्थानीय बजारमा रासायनिक मलको चरम अभाव छ। मल खरिदका लागि अख्तियारी पाएका सहकारीले माग भए अनुसारको मल खरिद गर्न पाएका छैनन् । मुख्य आपूर्तिकर्ताको रूपमा रहेका कृषि सहकारीमा दैनिक किसान सहकारी धाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्