एजेन्सी : श्रीलंकाको संसदमा बिहीबार महेन्द्र राजपाक्षेका समर्थक र विरोधी सांसदहरूबीच झडप भएको छ । झडपका क्रममा केही सांसदहरू घाइते भएका छन् ।
बिहीबारको संसदमा राजपाक्षेले आफूलाई हटाउन अधिकार संसदलाई नभएको बताएपछि सांसदहरू आक्रोशित भएर हात हालाहालको स्थित सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उक्त घटना नवनियुक्त प्रधानमन्त्री राजपाक्षेविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको भोलिपल्टै भएको हो । बुधबार यहाँको संसदमा उनीमाथि सांसदहरूले अविश्वासको प्रस्ताव पारित गरेका थिए ।
सभामुख कारु जयसूर्याले २ सय २५ जना सदस्य रहेको संसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गरेका थिए । श्रीलंकाले केही समयदेखि राजनीतिक संकटको सामना गर्दै आएको छ ।
श्रीलंकाका राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपछि यहाँ राजनीतिक संकट शुरु भएको हो ।
यसअघि संसदमा राजापाक्षको बहुमत पुग्ने नदेखिएपछि संसदको विघटन गरी आगामी जनवरी ५ मा आकस्मिक निर्वाचन हुने राष्ट्रपति सिरिसेनाले घोषणा गरेका थिए ।
तर मंगलबार श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई पुनर्स्थापना गर्ने आदेश दिएको थियो । अदालतले राष्ट्रपतिद्वारा अर्को वर्ष हुनेगरी घोषणा गरिएको निर्वाचन पनि रोक्न आदेश दिएको थियो ।
निवेदनमाथि प्रधानन्यायाधीश नलिन परेराको नेतृत्वमा भएको तीन सदस्यीय इजलासले संसद पुनः स्थापना गर्ने निर्णय दिएको थियो ।
निर्णय सुनाइँदा जम्मा भएको ठूलो भीडबाट हुन सक्ने सम्भावित आक्रोशबाट अदालत परिसरमा सुरक्षा दिन सयौँ सुरक्षाकर्मी तथा कमाण्डोलाई अत्याधुनिक हतियारसहित तैनाथ गरिएको थियो ।
अदालतले राष्ट्रपति सिरिसेनाले गरेको घोषणालाई खारेज गर्दै संसदको पुनर्स्थापना भएको निर्णय सुनाएको थियो ।
अदालतले राष्ट्रपति सिरिसेनाले नियुक्त गरेका विवादास्पद बनेका प्रधानमन्त्री राजापाक्षेलाई २२५ सदस्यीय संसदमा बहुमत पुष्टि गरी विक्रमासिङ्घेलाई जिम्मेवारीबाट हटाउन सक्ने निर्णय दिएको छ ।
अदालतले स्वतन्त्र निर्वाचन आयोगलाई जनवरीमा निर्वाचन गर्नेगरी भएका सबै तयारी रोक्न आदेश दिइसकेको छ ।