निर्वाचित भएलगतै चौलागाईंको चासो मध्यपहाडी लोकमार्गमा



काठमाडौं । रामेछाप प्रदेशसभा ‘ख’बाट नवनिर्वाचित वाग्मती प्रदेशसभा सांसद युवाराज चौलागाईंले निर्वाचित भएलगतै पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत रामेछाप खण्डको कामको विषयमा चासो व्यक्त गरेका छन् । उनले आयोजना प्रमुख ई.दीपेन्द्र पाण्डेय लगायतसँग मध्यपहाडी लोकमार्गमा भएको प्रगति, अव गर्ने पर्ने काम र योजनाको समयावधीको विषयमा छलफल गरेका छन् ।

उनले लोकमार्गको काम छिटो र प्रभावकारी रुपमा सम्पन्न गराउनका लागि आज आयोजना प्रमुखलाई आग्रह गरेका छन् । मध्यपहाडी लोकमार्ग २०८१ सम्ममा कालोपत्रे गरिसक्नु पर्ने राष्ट्रिय गौरवको आयोजना हो ।

रामेछाप खण्डमा पर्ने केही पुलहरु समयमै निर्माण गर्न र ग्रेडिङ लगायतको काम सम्पन्न गर्न चौलागाईंले ध्यानाकर्षण गराइएका छन् । साथै, उनले आयोजनाको कार्यालय यहि वर्ष रामेछापको सित्खा बजारमा सार्न आवश्यक सहयोग र पहल गर्ने वचन पनि दिएका छन् ।

मध्यपहाडी लोकमार्गको लम्बाइ १८ सय ७९ किलोमिटर पुर्‍याएको छ। आयोजना सुरु गर्दा यो राजमार्ग १७ सय ७६ किलोमिटर लामो हुने अनुमान गरिएको थियो। विभिन्न आयोजनालगायतका कारण लम्बाइ बढेको आयोजना निर्देशनालयले जनाएको छ।

तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४/६५ मा तराईमा जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङकन गरि बजेट विनियोजन गरेका थिए। भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्