चुनावबाट युवाले सिक्नै पर्ने पाठ



काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रममा छ । ५ वर्षपछि यस पटक जनमत केही फेरियो तर व्यक्तिगत उभार र जनअपेक्षाअनुसार युवा पुस्तामा संसदीय हस्तक्षेप पुग्नै सकेन । तथ्यले के देखाउँछ भने, यस पटक ४० वर्षमुनिका ७५९ जना उम्मेदवार मैदानमा थिए । तर, संसद्को ढोका भने जम्मा ९ जनाका लागि मात्र खुल्यो । यस अर्थमा १५६ अनुहार ४० माथिका नै संसद् भवन छिर्दै छन् । यसको सङ्केत या त राजनीतिमा युवाहरूले बर्चस्व राख्न सकेनन् वा युवा पुस्तालाई मतदाताले पत्याएनन् । यसका पछि थुप्रै कारण छन् \हुन सक्छन् ।

गगन थापा एजेन्डासहित आए । अर्थात्, उनले पार्टीका पुराना पुस्तालाई चुनौती दिएर देशको कार्यकारी पदमा आफू पुग्ने उद्घोष गरे । जनतालाई यो मनपर्‍यो, गगन अनुमोदित भइहाले । ४० वर्ष नकेटका अन्य ८ जना उम्मेदवार कि नयाँ एजेन्डासहित जन्मिएको नयाँ पार्टीबाट आए कि त पार्टीको गढ भएका ठाउँमा उम्मेदवार बन्न पाए । जनताले यो युवा अनुहार हो, यसलाई जिताएर पठाइयो भने हाम्रा अपेक्षा पूरा गर्छन् भनेर विश्वास नै नगरेको अवस्था हो यो निर्वाचन परिणाम । अनुमोदन हुन नसक्नुको दोष मतदातालाई दिएर पुग्नेवाला छैन किनकि युवा भनिएका र देशको बागडोर सम्हाल्छु भनेकाहरूसँग एजेन्डा नै भएन । जनताको विश्वास जित्नै सकेनन् ।

कतिपयले राजनीति कर्म अनुभवले भरिपूर्ण हुनुपर्ने तर्क गर्छन् । यसमा दम नभएको होइन । हो, अनुभवको ज्ञान स्थायी हुन्छ तर नयाँ पुस्ताको नयाँ अनुभव, भोगाइ र जोशले पनि देश बन्छ भनेर विश्वास छ भन्ने सम्भावना भएका दलहरूले नै बुझेनन् । यदि ४० वर्षमुनिका प्रतिनिधिलाई मैदानमा जित्ने एजेन्डासहित पठाएको भए ५ वर्षको सिकाइ र अनुभवलाई कम्तीमा अर्को ५ वर्ष कार्यान्वयन गर्ने थिए । दलहरूले यो विन्दुमा गल्ती गरे । युवा उम्मेदवारले जवान भएको भरमा मत आउँछ भनेर ठाने । म युवा छु भनेको भरमा जनताबाट अनुमोदन हुन्छु भन्ने भ्रमबाट मुक्त नहुँदा एउटा ऐतिहासिक सफलता र जिम्मेवारीबाट यस पटक पनि युवा पुस्ता अलग भए ।

भोलिका दिनमा लामो सयमदेखि राजनीति गरेका तर जनपक्षीय हुन नसकेका, आफूलाई विरासतवाला ठान्ने र स्वघोषित ‘हेभी वेट’हरू, जो काम गर्दैनन्, तिनलाई पाखा लगाउने हो भने युवा वर्गमा स्पष्ट एजेन्डा हुनै पर्छ । अघिल्लो पुस्ताका नेतालाई गाली गरेर मन त जितिन्छ तर मत जितिँदैन । यो पाठ यस पटक युवा उम्मेदवारले सिकेको हुनुपर्छ । परिवर्तनशील समाज र राजनीतिलाई कता लैजाने र कहाँसम्म पुर्‍याउने भन्ने स्पष्ट योजनाको अभाव युवा पुस्तामा देखियो । यसलाई चिरेर अघि बढे मात्र राजनीतिभित्रको कथित विरासत भत्किन समय लाग्नेछैन ।

प्रतिक्रिया दिनुहोस्