विश्वकप तयारीका क्रममा ५ सय कामदारको मृत्यु भएको कतारले स्वीकार्‍यो



काठमाडौं । कतारले फिफा विश्वकप फुटबलको तयारीमा ४ सयदेखि ५ सय कामदारको मृत्यु भएको स्वीकाररेको छ । मृत्यु हुनेहरु विभिन्न देशबाट रोजगारीका लागि कतार पुगेका मजदुरहरु हुन् ।

कतारले श्रमिकको मृत्युको संख्या तोकेरै सार्वजनिक गरेको यो पहिलो पटक हो । अङ्ग्रेजी पत्रिका ‘बिजनेश स्ट्यान्डर्ड’मा प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तरवार्तामा यो संख्यात्मक मृत्युको स्वीकार गरेका हुन् । ‘यो सङ्ख्या ४ सयदेखि ५ सयको बीचमा छ,‘उनले भने,‘मसँग यकिन सङ्ख्या छैन, तर एक जनाले ज्यान गुमाउनु पनि धेरै दुस्खद पक्ष हो ।’

थावाडीका अनुसार ज्यान गुमाएकाहरु विश्वकपका लागि मैदान, सडक, होटललगायतका पूर्वाधार निर्माणमा संलग्न थिए । यसअघि कतारले विश्वकपको तयारीका क्रममा मृत्यु हुनेको संख्या धेरैमा ३७ देखि ४० सम्म रहेको दाबी गर्दै आएको थियो ।

कतारले १२ वर्षअघि विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो । विश्वकप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो । कतारमा अहिले पनि ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ । उनीहरु रंगशाला निर्माणका लागि खटिएका थिए ।

विश्वकपका लागि कतारले ८ वटा रंगशाला निर्माण गरेको छ । रंगशाला तथा यससँग जोडिएका निर्माणमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी ५ वटा दक्षिण एसियाली देशका ६ हजार ५ सयभन्दा धेरै श्रमिकको मृत्यु भएको तथ्याङ्क यसअघि विभिन्न निकायबाट सार्वजनिक गरिएको छ ।

जुन कतार सरकारले दाबी गरेको संख्या भन्दा निक्कै धेरै छ । गएको मंसिर ४ गतेदेखि कतारमा सुरु भएको २२ औँ संस्करणको प्रतियोगितामा ३२ देश सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्