फरार अभियुक्त महोत्तरी-१ बाट अनुमोदित



  • विशाल बस्नेत

महोत्तरी । ‘लक्ष्मी महतोको विजयमा यस क्षेत्रले हार्‍यो, निष्ठा र इमान्दारीले हार्‍यो, भाग्य र भरोसाले पनि हार्‍यो’, गौशाला नगरपालिकाका ओम प्रकाशले दुखी हुँदै भने । ओम प्रकाश जस्तै लक्ष्मी महतोको विजयमा दुखी हुने महोत्तरी–१ का धेरै सर्वसाधारण अहिले चिन्तित छन् ।

चिन्ता निकटतम प्रतिद्वन्द्वी गिरिराजमणि पोखरेलले पराजय बेहोरेको हुनाले होइन, फरार सुचीमा रहेका लक्ष्मी महतोले जनप्रतिनिधिको रूपमा काम गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयले हो।मतदाताहरू अन्योलमा पर्दा उनले जनताको मत त पाए तर संसद्मा जान सक्छन् कि सक्दैनन् भन्ने विषय नै यतिबेला महोत्तरीमा मुख्य चर्चाको विषय बनेको छ।

निर्वाचनमा कानुनले फौजदारी मुद्दा चलेकै कारण कसैलाई बञ्चित गरेन, जसको परिणाम स्वरूप महतो निर्वाचित त भए तर संविधानको धारा २१९ अनुसार सांसदको भूमिकामा रहलान् कि नरहलान् भन्ने संशय बढ्दै गएको छ । ३ पटकसम्म यसै क्षेत्रबाट निर्वाचित पोखरेलले २०७४ सालको निर्वाचनमा महतोलाई पराजित गरे भने यस निर्वाचनमा महतोले पोखरेललाई पराजित गरे ।

हत्या अभियोग लागेका महतोलाई च्यापेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महोत्तरी– १ मा एक जना सङ्घीय सांसद थप्न त सफल बने तर महतोलाई संसद् यात्रामा सहभागी गराउन ओलीले कस्तो भूमिका खेल्छन् भन्ने विषय यतिबेला आमचासो बनेको छ। कानुनविद्हरूका अनुसार महतो तुरुन्तै संसद् यात्रामा सहभागी हुन पाउँदैनन्।

विगतमा पनि महतोको जस्तै मुद्दा खेपेर जेल जीवन भोगिरहेका कैलालीका रेशम चौधरी यसको उदाहरण हुन् । चौधरीको जस्तै मुद्दा बोकेका महतोको विषयलाई लिएर महोत्तरी– १ कतै संसद्विहीन त हुँदैन ? भन्ने विषय पनि टड्कारो रूपमा देखिएको छ ।

प्रमाणपत्र पनि लिन पाएनन् महतोले

जनताद्वारा अनुमोदित महतोले निर्वाचन आयोगले प्रदान गर्ने प्रमाणपत्र पनि लिन पाएनन्। कानुनको नजरमा पारम्भिक दोषी ठहर भएका महतोले आफ्ना प्रतिनिधिमार्फत प्रमाणपत्र हात पारे। निर्वाचन अधिकृत गुणराज श्रेष्ठले महतोका कारण प्रमाणपत्र औपचारिक रूपमा वितरण गर्न पनि नपाएको गुनासो गरे।

पुर्पक्षका लागि थुनामा बस्नुपर्ने उच्च अदालतको आदेशपछि उनी जुनसुकै बेला पनि पक्राउ पर्न सक्छन्, जसका कारण महतो मत गणनास्थलको बाहिरसमेत पुगेनन् । चुनावी आमसभामा समेत कमै हिँडेका महतो उच्च अदालतले आदेश जारी गरेदेखि नै कमै हिँडडुल गर्छन् । महतोको प्रमाणपत्र उनका प्रतिनिधि मिथलेश साहले लिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । महतोको मनोनयन दर्ता पनि उनै साहले गराएका थिए ।

ससंद् यात्रामा सहभागी हुन महतोले के गर्नुपर्छ ?

अन्योलमै मतदाताहरूले मत दिएर जिताए पनि महतोको संसद् यात्रा तत्कालका लागि ‘ब्रेक’ लागेको छ। उच्च अदालत जनकपुरको फैसलाअनुसार महतो सजायको भागीदार हुनै पर्ने अवस्था छ। अधिवक्ता भूपेन्द्र सापकोटाका अनुसार महतो पहिले पुर्पक्षका लागि थुनामा बस्नेछन्।

महतोलाई उच्च अदालतको फैसला चित्त नबुझे सर्वाेच्च जान सक्ने पनि कानुनी प्रावधान छ तर उच्च अदालतको निर्णय कार्यान्वयनमा नआएसम्म महतो सर्वोच्च जान सक्दैनन् । यदि उच्च अदालतले गरेको फैसला सर्वाेच्च अदालतले सदर गरे महतो सांसदबाटै निलम्बन हुन सक्ने कानुनी प्रावधान छ।

उनलाई किन उच्च अदालतले थुनामा राख्ने आदेश दियो ?

मधेसमा आन्दोलन हुँदै गर्दा २५ भदौ २०७२ मा मधेसी मोर्चाका कार्यकर्ताले असई थमन विकलाई नियन्त्रणमा लिएर लाठी, लात्ती र मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उनलाई उद्धार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पुर्‍यायो। थप उपचार आवश्यक भएपछि उनलाई सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पतालको एम्बुलेन्समा जनकपुर अञ्चल अस्पतालतिर लैजाँदै थियो ।

सोही क्रममा मधेसी मोर्चाका कार्यकर्ताको समूहले बाटोमै पुनः आक्रमण गर्‍यो। आक्रमणबाट विकको मृत्यु भयो । अभियुक्तका रूपमा मुद्दा चलाइएका महतोलाई महोत्तरी जिल्ला अदालतले २ असोज २०७६ मा १ लाख रुपैयाँ धरौटीमा रिहा गर्‍यो।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको भन्दै उच्च अदालत जनकपुरका न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले १९ मङसिर २०७७ मा महतोलाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दियो । तर, उनी पक्राउ नै परेनन् । उनी अहिले पनि फरार सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्