काठमाडौं : सरकारले इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई सिफारिस गरेको छ ।
पूर्वमन्त्री र राप्रपाका नेता समेत रहेका थापालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएका थिए ।
कांग्रेस र तत्कालीन माओवादीको गठबन्धन सरकारका बेला राप्रपाको कोटामा राजदूत बनेका थापालाई फिर्ता बोलाउनु स्वभाविक भएको सत्तारुढ नेकपाका नेताहरु बताउँछन् । तर, रिक्त पदमा शाक्यको सिफारिसमा भने नेताहरुले आश्चर्य व्यक्त गरिरहेका छन् ।
शाक्य प्रदेश ३ का नेकपा (तत्कालीन एमालेबाट निर्वाचित) का सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् ।
नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् ।
तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन् ।
ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् ।
नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो ।
शाक्य नेकपाको संगठनमा भने क्रियाशील छैनन् ।