सरकार गठनको चटारोमा देउवा, सिके राउत र चौधरीलाई फकाउँदै



काठमाडौँ । ४ मंसिरमा सम्पन्न चुनावको मतगणना अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठबनको सरगर्मी पनि बढेको छ । अहिलेसम्म आएको मत परिणाम अनुसार कुनै पनि दलले चाहेको अवस्थामा सरकार बन्न सक्ने प्रष्ट अवस्था छैन ।

चुनाव अघि सरकार गठनको लागि चाहिने बहुमत आफूहरुले पाउँने दाबी गर्ने पाँच दलीय सत्ता गठबधनले पनि बहुमत पाएको छैन भने अर्को गठबन्धन एमाले–राप्रपा–जसपाको गठबन्धन पनि उस्तै अवस्थामा छ । आफूहरुले सोचेको र चाहेको भन्दा फरक परिणाम आएपछि अहिले प्रमुख दलहरु दबाबमा छन् ।

हाल प्राप्त मतको आधारमा अब बन्ने सरकार बनाउने वा नेतृत्व गर्ने अधिकार एमाले र कांग्रेसलाई छ । त्यही अनुसारदलहरुले संघ तथा प्रदेशमा नयाँ सरकार गठनका लागि छलफल सुरु गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग अनौपचारिक छलफल थालेका छन् । गठबन्धनमा रहेका दल तथा त्यसबाहिर रहेका दलका नेताहरुसँग उनले बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका छन् ।

चुनाव जितेपछि विजयोत्सव मनाइरहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री देउवाले काठमाडौं बोलाएर छलफल गरेका हुन् । सत्ता गठबन्धनलाई बहुमत जुटाउन केही सिट अपुग देखिएपछि सत्ता गठबन्धन दलका नेताहरु आवश्यक सिट पुर्‍याउन साना दलसँग छलफल गरिरहेका छन् ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाबाहेक पनि केही सिट आवश्यक परेपछि प्रधानमन्त्री देउवाले छलफल थालेका हुन् । यस क्रममा उनले जनमत पार्टीका प्रमुख सीके राउतलाई प्राथमिकता दिएको देखिन्छ।

बहुमतका लागि प्रतिनिधिसभामा कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । हाल प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनमा रहेका दलमध्ये कांग्रेसले ५४ (१ अग्रता), माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन्। गठबन्धनको जम्मा प्रत्यक्ष मत ८६ हुन्छ। हालसम्मको मतपरिणामअनुसार सत्ता गठबन्धनमा रहेका दलहरुले समानुपातिकतर्फ बढीमा ४६ सिट प्राप्त गर्ने देखिएको छ। प्रत्यक्ष र समानुपातिक गरी सत्ता गठबन्धनसँग १३२ सांसद पुग्ने देखिन्छ।

सरकार बनाउन सत्ता गठबन्धनसँग ६ सिट अपुग छ । सीके राउतसँग एक सिट प्रत्यक्ष र समानुपातिक ५ सहित ६ सिट छ। त्यही भएर सीके राउतलाई सत्ता गठबन्धनमा भित्र्याउन प्रयास भइरहेको छ।

उता, नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई पनि सत्ता गठबन्धनमै तान्ने प्रयास भइरहेको छ। नागरिक उन्मुक्ति पार्टीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका छन्। यता, स्वतन्त्रबाट जितेका प्रभु साह, किरण साह र डा.अमरेश सिंहलाई पनि सत्ता गठबन्धनले आफ्नो पक्षमा राखेर हिसाब गरिरहेको छ तर हालसम्म प्रभु साहले यस विषयमा केही बोलेका छैनन्।

प्रतिक्रिया दिनुहोस्