इन्द्रको नयाँ वनपाले



काठमाडौं । पत्रकार तथा रङ्गकर्मी इन्द्र चौधरीको बाल चित्रकथा ‘नयाँ वनपाले’ सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था रुम टु रिडले यो बालकथा प्रकाशन गरेको हो ।

लेखक चौधरीले जलवायु परिवर्तनको समस्यालाई न्यूनीकरण गर्न र बालबालिकालाई सानैदेखि वातावरण संरक्षणसम्बन्धी ज्ञान वा चेतना जगाउने उद्देश्यले बालकथा सिर्जना गरिएको बताए । ‘यसको मुख्य विषयवस्तु वातावरण संरक्षण कसरी गर्नुपर्छ भन्ने नै हो’, चौधरीले भने, ‘यस विषयमा बालबालिकालाई सानैदेखि जलवायु परिवर्तनको समस्या बुझाउन र वातावरण संरक्षण गर्न उत्प्रेरित गर्नु हो ।’

लेखक चौधरीका अनुसार रानाथारू जातिमा प्रचलित १ लोककथाबाट विषयवस्तु तथा पात्रलाई लिएर यो बालकथा सिर्जना गरिएको हो । ‘यसमा रानाथारू जातिमा प्रचलित लोककथाका पात्र र विषयवस्तुलाई बालशैलीमा ढालेर सरल भाषामा नयाँपन ल्याइएको छ’, उनले भने ।

अनन्त वाग्लेको सम्पादन रहेको यस बाल चित्रकथाको चित्र अनुश्री लामाले बनाएकी हुन् भने यसको डिजाइन विपिन सोडारीले गरेका छन् । सम्पादक वाग्लेले अहिलेको जल्दोबल्दो समस्या जलवायु परिवर्तनको कारण के हो ? भन्नेबारे जानकारी दिन र यसलाई जोगाउन के गर्नुपर्छ ? भन्नेबारे बालबालिकालाई सचेत गराउन पुस्तकले भूमिका खेल्ने बताए ।

चौधरीको यो दोस्रो बालकथा हो भने पुस्तकाकारका रूपमा प्रकाशित पहिलो बालकथा हो । यसअघि उनको द एसिया फाउन्डेसनद्वारा ‘ढोला फर्कियो त ?’ नामक बालकथा प्रकाशित छ । जुन लेट्स रिड नेपालको वेबसाइटमा पढ्न सकिन्छ । त्यसैगरी चौधरीको नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ नामक अनुसन्धानात्मक पुस्तक पनि प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्