मुसाको हत्या गरेको आरोपमा एक जना पक्राउ



एजेन्सी । भारतको उत्तर प्रदेशमा रहेको बदायूँमा एक व्यक्तिमाथि मुसाको हत्या गरेको आरोपमा जाहेरी दर्ता गरिएको छ । मनोज नामक व्यक्तिले मुसाको पुच्छर ढुंगामा बाँधेर पानीमा डुबाई मारेको आरोप विकेन्द्र नामक व्यक्तिले लगाएका छन् ।

जाहेरीका आधारमा मनोजलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । विकेन्द्रले मुसाको सिनो पोस्टमोर्टमका लागि बरेली पठाएको छ । पोस्टमोर्टमको रिपोर्टमा मुसाको मृत्यु पानीमा डुबेकाले नभई सास फेर्न नसकेकाले भएको उल्लेख छ । मुसाको फोक्सो र कलेजो पहिले नै बिग्रिसकेको बताइएको छ ।

मनोजले मुसाको पुच्छर ढुंगामा बाँधेर नालीमा डुबाएपछि विकेन्द्रले मुसाको सिनो निकालेर पोस्टमोर्टमका लागि बरेली पठाएका थिए । त्यसको खर्च पनि उनले तिरेका थिए । अनि प्रहरीसमक्ष जाहेरी पनि दिएका थिए ।

प्रहरीले मनोजलाई आठ घण्टासम्म हिरासतमा राखेको थियो । अहिले उनी धरौटीमा छुटेका छन् । मनोज गरीब मजदूर हुन् । उनी आफ्नो झुपडीमा अरूले मुसा छोड्ने गरेको गुनासो गर्छन् । मुसाले हैरान गरेकाले डुबाएर मारेको उनको भनाइ छ । आफू गरीब भएकाले फसाइएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्