प्रचण्ड निवासमा सिके राउत



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणसँग जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटवार्ता गरेका छन् ।

राउतले बिहीबार दाहाल र खाणसँग छुट्टाछुट्टै भेट गरेका हुन् । त्यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेसका नेताहरुसँग भेटेर सत्ता गठबन्धनमा सहभागी हुने सहमति जनाएका थिए ।

दाहाललाई भेट्न राउत उनकै निवास ललितपुरको खुमलटार पुगेका थिए । दाहालसँग भेटेर शुभकामना आदानप्रदान गरेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जनाइन् ।

यस्तै गृहमन्त्री खाणलाई सरकारी निवास पुल्चोकमा भेट गरेका हुन् । गृहमन्त्री खाणले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिएका थिए ।

२ नेताबीच मुलुकमा शान्ति, सुशासन र स्थिरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।

त्यस्तै आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि उनीहरुबीच कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्