जापान विश्वकप फुटबलको नकआउट चरणमा



काठमाडौं । जापान फिफा विश्वकप फुटबल २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो। खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानलाई जित दिलाउन रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । उता स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए।

स्पेनले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न पुगेको हो । खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । जापानले दोस्रो हाफको सुरुवातमै गोल गर्न सफल भयो । खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । जापानले ३ खेलमा ६ अंक जोड्यो । पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो ।

प्रतिक्रिया दिनुहोस्