३६ वर्षपछि विश्वकप नकआउट चरणमा मोरक्को



काठमाडौं । ३६ वर्षपछि मोरक्को नकआउट चरणमा पुग्दा ३६ वर्षपछि नै विश्वकपमा सहभागी भएको देश क्यानडा भने समूहका सबै खेलमा पराजित हुँदै बाहिरिएको छ। समूह एफको विजेता बन्दै मोरक्को दोस्रोपटक नकआउट चरणमा पुगेको हो।

समूहको अन्तिम खेलमा मोरक्को क्यानडाविरुद्ध २–१ गोल अन्तरले विजयी भएको हो। मोरक्कोको जितमा खेलको चौथो मिनेटमा हाकिम जिएच र २३ औं मिनेटमा युसेफ नसरीले गोल गरे। मोरक्कोका डिफेन्डर नाइफ अगुएर्डले आत्मघाती गोल गर्दा खेल २–१ मा टुंगिएको हो।

पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले पराजित गरेको थियो। क्यानडा भने पहिलो खेलमा बेल्जियमसँग १–० र दोस्रो खेलमा क्रोएसियासँग ४–१ ले पराजित भएको थियो। यसअघि १९८६ मा दोस्रोपटक विश्वकपमा सहभागी हुँदा मोरक्को नकआउटमा पुगेको थियो।

१९७० मोरक्कोले पहिलो पटक विश्वकप खेलेको थियो। तर, त्यसपछि खेलेका तीन विश्वकपमा समूह चरणबाटै बाहिरिएको मोरक्कोले समूहबाट बेल्जियम बाहिरिँदा अन्तिम १६ मा स्थान बनायो। यसअघि २०१८ मा समूह चरणबाटै बाहिरिएको थियो। १९९४ र १९९८ मा पनि पहिलो चरणबाटै बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्