सरकार गठन ‘भ्यागुताको धार्नी’



काठमाडौं । बिहीबार बेलुकीसम्मको मत परिणामले समेत भावी सरकार कसको नेतृत्वमा कुनकुन दल मिलेर बन्छ भन्ने प्रष्ट खाका देखाइसकेको छैन। समानुपातिकतर्फको केही लाख र प्रत्यक्षतर्फका ३ सिटको नतिजा आउन बाँकी भए पनि हालसम्म सबैभन्दा धेरै सिट ल्याएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले सरकार गठनको समानान्तर गृहकार्य अघि बढाइसकेका छन्।

वर्तमान सत्ता गठबन्धन दल आबद्ध सबै दलको प्रत्यक्ष र समानुपातिकतर्फको सिट जोड्दा पनि बहुमत (१३८)को प्रष्ट आँकडा आइनसकेका कारण गठबन्धनको सरकार बन्नलाई समेत कम्तीमा ६ सिट ल्याएको कुनै दललाई सहभागी गराउनुपर्ने परिस्थिति देखिँदै छ। नेकपा (एकीकृत समाजवादी)ले ‘थ्रेस होल्ड’ कटाएर राष्ट्रिय पार्टी बन्ने प्रष्ट अवस्था नदेखिएसम्म गठबन्धन दलले मात्र सरकार गठन गर्ने अवस्था छैन । यस्तो अवस्थाका बीच गठबन्धन दलभित्रै प्रधानमन्त्रीका ६ जना आकाङ्क्षी देखिनु अर्को चुनौती छ।

कांग्रेस सभापति देउवा, महामन्त्री थापा, नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशाङ्क कोइरालाका साथै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत प्रधानमन्त्री बन्ने दौडधुप र ‘खेलकुद’मै छन्।

सरकार गठनको बलियो सम्भावना बोकेको सत्ता गठबन्धनलाई साझा प्रधानमन्त्री चयन मात्र होइन, राष्ट्रपतिदेखि सभामुख हुँदै मुख्यमन्त्रीसम्मको ‘पावर सेयरिङ’को विषय पनि ‘फलामको चिउरा’ बन्ने देखिँदै गर्दा सङ्घीय सरकार गठन अहिलेसम्म भ्यागुताको धार्नी पुर्‍याउन आइलाग्ने सकस जस्तो देखिएको छ। यस्तो अवस्थामा भावी सरकारका केही सम्भावित परिदृश्यमाथि अड्कलबाजी भइरहेका छन् भने दलका नेताहरू भित्रभित्रै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी घनीभूत छलफलमा छन् ।

सजिलो बाटो : गगनको नेतृत्वमा कांग्रेस–एमाले सरकार

प्रतिनिधिसभातर्फका २७५ सिटमध्ये सार्वजनिक परिणामअनुसार कांग्रेस पहिलो र एमाले दोस्रो दल बन्ने प्रष्ट भइसकेको छ । यी २ दलबीच बढीमा १२ सिटले कांग्रेस अघि पर्दा सरकारको नेतृत्व दाबी गर्ने पहिलो हक कांग्रेसमै रहन्छ । तर, कांग्रेसभित्र प्रधानमन्त्री को बन्ने भन्ने रस्साकस्सी नटुङ्गिएसम्म भावी सत्ता गठबन्धनको आकार र अवस्था प्रष्ट नहुने कांग्रेसकै नेताहरू बताउँछन्।

सभापति देउवाले बिहीबारबाट आफू प्रधानमन्त्री बन्ने गरी गठबन्धनसहित सरकार बनाउन अपुग सिट खोज्न जनमत र लोसपाका शीर्ष नेतासँगको भेटघाट तीव्र बनाए पनि उनीहरूले देउवाको पक्षमा वचन दिइसकेका छैनन्। देउवासँगै संसदीय दलको नेता जितेर प्रधानमन्त्री बन्ने दाउमा महामन्त्री थापा अघि बढिसकेका छन् । उनलाई देउवा खेमाकै अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित थुप्रै युवा सांसदले साथ दिएका छन् ।

राजनीतिक स्थिरताका लागि ५ वर्ष टिक्ने सरकार जनअपेक्षा भए पनि मत परिणाम यसअनुसार नआएका कारण विभिन्न दल मिलेरभन्दा २ दल मिलेर सरकार गठन सबैभन्दा उत्तम विकल्प देखिन्छ।एमालेका दोस्रो तहका नेताहरूका अनुसार कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा थापालाई अघि सारेको अवस्थामा एमाले पनि थापा नेतृत्वको सरकारमा सहभागी हुन र समर्थन गर्न ‘लगभग तयार’ छ।आफ्नै नेतृत्वमा सरकार बनाउने अधिकतम् प्रयास गर्ने बताउँदै आएका एमाले नेताहरू त्यो सम्भावना टर्दैै गए देउवाको विकल्पमा गगनलाई अघि सारेर सुविधाजनक बहुमतको सरकार गठनको पक्षमा खुल्ने बताउँछन् ।

‘सबै परिणाम त आइसकेको छैन, तर कांग्रेस पहिलो र हामी (एमाले) दोस्रो दल बन्ने भएपछि परिवर्तनको जनचाहना समेटिने गरी गगनजीको नेतृत्वमा कांग्रेस अघि बढे एमालेसँग सहकार्य हुन सक्छ’, एमालेका एक पदाधिकारीले द नेपालटपसँग भने । उनका अनुसार एमालेभित्र मात्र नभएर कांग्रेसभित्र पनि यस विकल्पका विषयमा छलफल सुरु भएका छन्।

स्रोतका अनुसार गगनको नेतृत्वमा सरकार बनाउने र राष्ट्रपतिसहित केही ‘पावरफुल’ मन्त्रालय एमालेले लिने गरी पनि छलफल अघि बढेको छ। यसमा पनि अढाई वर्षपछि एमालेले सरकारको नेतृत्व गर्ने वा ५ वर्षका लागि नै स्थिर सरकार बनाउने भन्ने २ विकल्पमा सहकार्य गर्ने गरी गृहकार्य बढाइएको स्रोतको दाबी छ।

प्रधानमन्त्रीका आकाङ्क्षी थापाले एमाले उपाध्यक्ष विष्णु पौडेलसमेत सहभागी एउटा कार्यक्रममा बिहीबार सहभागी भएर यसको सङ्केत दिन खोजेको गगन निकट एक सांसदको दाबी छ। सो कार्यक्रममा पौडेल र गगनको भनाइ पनि ‘मिल्दोजुल्दो’ देखिएकाले पनि यो सम्भावनालाई नकार्न सकिँदैन।

वर्तमान अर्थमन्त्री जनार्दन शर्मासमेत सहभागी सो कार्यक्रममा शर्माले वर्तमान सरकारले अर्थतन्त्र सुधार गरेको दाबी गर्दै गर्दा सरकारको नेतृत्वकर्ता दलकै महामन्त्री गगन भने शर्माभन्दा विपरीत देखिए। उनले घुमाउरो भाषामा अहिले अर्थतन्त्र ‘डामाडोल’ अवस्थामा रहेको सङ्केत गर्दै यसलाई सुधार गर्नुको विकल्प नभएको बताए । एमाले उपाध्यक्ष पौडेलले पनि सोही कुरा दोहोर्‍याए ।

एमालेले गगनलाई समर्थन गर्ने अवस्थामा राजनीति पुगेमा र डा. शेखर कोइरालाले पनि गगनलाई प्रस्ताव गरेको अवस्थामा देउवासहित कांग्रेसका अन्य आकाङ्क्षी दबाबमा पर्ने र गगन स्वतः संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने बाटोमा अग्रसर हुने ती नेताको विश्वास छ।

अन्य सम्भावित विकल्प

कांग्रेस प्रवक्ता डा. रामशरण महत र अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सभापति देउवाकै नेतृत्वमा गठबन्धन दल मिलेर भावी सरकार बन्दै छ । तर, उनीहरूले दाबी गरेजस्तो सजिलो बाटोमा भने देउवा छैनन् । सत्ता गठबन्धन दललाई बहुमत नपुगेको अवस्थामा गठबन्धन बाहिरका बलिया दललाई सहभागी गराउँदा पावर सेयरिङमा देउवाले निकै पापड बेल्नुपर्नेछ।

हाल कांग्रेस सम्पर्कमा रहेका जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले वर्तमान गठबन्धनलाई साथ दिए पनि जनमतले मधेसमा मुख्यमन्त्रीको दाबी गर्ने बताइसकेको छ। महन्थ ठाकुर नेतृत्वको लोसपाले आफ्ना पुराना माग (नागरिकता समस्यासहित) पूरा गर्ने स्पष्ट मार्गचित्र र प्रतिबद्धता खोज्ने बताइसकेको छ।

यस्तो अवस्थामा पावर सेयरिङसँगै दलभित्रैका प्रधानमन्त्रीका आकाङ्क्षीलाई चित्त बुझाउने या चुनाव गरेर हराउनेदेखि तेस्रो शक्ति बनेको नेकपा (माओवादी केन्द्र) र थ्रेस होल्ड कटाउन सङ्घर्षरत नेकपा एसबीच पावर सेयरिङमा देउवा सकसमा पर्ने देखिएका छन् । माओवादी पाए आफ्नै नेतृत्वको सरकार नत्र आलोपालो नेतृत्वको लिखित सहमतिको अडानमा रहने र नेकपा एसले राष्ट्रपतिसहित केही संवैधानिक निकाय प्रमुखमा दाबी गर्ने ती पार्टीका नेताहरूले बताइरहेका छन् ।

पार्टीभित्रको प्रतिपक्ष (शेखर, गगन समूह)लाई भागबन्डामा सहमत गराउनेदेखि अर्का नेता रामचन्द्र पौडेलको व्यवस्थापनमा पनि देउवाले प्रधानमन्त्री बन्नुअघि चतुर्‍याइँ देखाउनुपर्नेछ। यी चतुर्‍याइँमा देउवा चुकेको अवस्थामा एमाले, माओवादीसहितका वामपन्थी दल र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसहित मिलेर सरकार बनाउने विकल्प अगाडि आउनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यो गृहकार्य बढाइरहँदा प्रचण्डलाई विश्वासमा लिने, नेकपा एसलाई समेट्नेसहित अन्य दललाई पावर सेयरिङमा आश्वस्त पार्न ओलीलाई सहज देखिँदैन। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइनसक्दै भावी सरकारको रूपरेखाको छलफल चल्दै गर्दा दलहरूमा विभिन्न दाउपेच पनि देखिएका छन्।

कांग्रेस, एमाले र माओवादी केन्द्रबीच विभिन्न ४ खाले दाउपेच सतहमा आइरहेका बेला सम्भावित परिदृश्य अन्तिम परिणाम सार्वजनिक भएर सरकार गठनको आह्वानसम्म आइपुग्दा बदलिन सक्ने आकलन पनि नेताहरूले गरेका छन्। देउवाको नेतृत्वमा गठबन्धन सरकार बनाउने, प्रचण्ड या ओलीको नेतृत्वमा आलोपालो सहमतिसहितको वाम सरकार बनाउने, ओलीको नेतृत्वमा गठबन्धन फुटाएर गठबन्धनबाहिरका दल समेटेर सरकार बनाउनेजस्ता विकल्पसहितको छलफलसमेत जारी रहेकाले अझै २ साता सरकार गठनको स्पष्ट खाका नआउने नेताहरूको दाबी छ।

प्रतिक्रिया दिनुहोस्