मधेसको नेता को ?



काठमाडौं । ४ मङ्सिरको आमनिर्वाचनको परिणामले एउटा स्वरूप लिइरहँदा सत्ता नेतृत्वको विषयमा बहस सुरु भइसकेको छ। सरकारका लागि कोको मिल्ने ? कसरी जाने ? भन्ने विषयमा दलका नेताहरूबीच छलफल चलिरहेकै छ। तर, सरकार बनाउन सबै नेताहरू जोडजाडको हिसाबमा लागिरहँदा मधेसका जनता भने अब हाम्रो नेता को हो त ? भन्ने विषयमा चर्चा गरिरहेका छन्।

मधेसी जनताको अधिकार, मधेसको संस्कृति, मधेसी समुदायको रहनसहन, मधेसको सुरक्षा जस्ता विषयमा अब कसले केन्द्रलाई सुनाउँछ ? भन्ने प्रश्न र जबाफको दोहोरी अहिले मधेस प्रदेशका चियादेखि पान पसलसम्म सुनिन्छ । २०६३/०६४ सालताका उपेन्द्र यादव, महन्थ ठाकुर, उपेन्द्र यादव जस्ता नेतालाई ‘मसिहा’ ठान्ने स्थानीयहरू अब कसको पक्षमा बोल्ने होला भन्ने दोधारमा देखिन्छन्।

शरत्सिंह भण्डारी, राजकिशोर साह, प्रभु साह, चित्रलेखा यादव, सरिता गिरी, मात्रिकाप्रसाद यादव जस्ता नेता पनि मधेसको मुद्दामा सडक र सदनमा पटकपटक बोले । तर, यस पटकको निर्वाचनमा मधेसका मतदाताले ती अधिकांश पुराना अनुहारलाई रुचाएनन् । नयाँ अनुहार र नयाँ मुद्दालाई आफ्नो प्रथमिकतामा राखेका मत परिणामले देखाएको छ । मधेसमा पुरानाभन्दा नयाँ र ठोस मुद्दा बोकेका नेता यस पटक बढी चुनिएका छन् ।

यसो हुनुमा जनताले आश्वासन मात्र धेरै पाउनु र मतदातालाई आफ्नो स्वार्थ पूर्ति गर्ने माध्यम बनाउनु पहिलो भएको महोत्तरीमा रहेर मधेस केन्द्रित मुद्दामा लामो समयदेखि पत्रकारिता गर्दै आएका घनश्याम मिश्र बताउँछन् । उनी भन्छन्, ‘यहाँका जनता अब धेरै बाठा भइसकेका छन् । कसैको उक्साहट भन्दा पनि आफ्नो निर्णय आफैँ लिन सक्ने र आफ्ना मुद्दा र आवश्यकताका बारेमा राम्रोसँग बुझ्ने भएका छन् ।’

यसैको परिणाम हुन सक्छ– उपेन्द्र यादव, राजेन्द्र महतो, चित्रलेखा यादव, गिरिराजमणि पोखरेल जस्ता ठूला नेता पराजित हुँदा डा. सीके राउत, ज्वालाकुमारी साह जस्ता नेता विजयी हुनु।प्रतिनिधिसभातर्फ मधेस प्रदेशमा ३२ र प्रदेशसभाको ६४ वटै सिटको मत गणना सम्पन्न भइसकेको छ । नतिजालाई हेर्ने हो भने मधेस केन्द्रित दल पछि पर्दा नयाँ दलले आफ्नो स्थान बनाएको छ ।

मधेस केन्द्रित दलको रूपमा चिनिएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूको योजना, मुद्दा र विश्वास मधेसमै कमजोर बन्नुले पनि जनताको नजरमा आफ्नो नेता परिवर्तन भएको पत्रकार मिश्र बताउँछन्। मधेसमा शून्य अवस्थामा पुग्न लागेको एमाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पहिलो बन्दा मधेसमै किल्ला ठोकेर बसेका लोसपा र जसपा आफ्नै अस्तित्वको खोजीमा देखिन्छन् । उता, सीके राउतको जनमत पार्टी भारी जनअभिमतका साथ उदीयमान दलको रूपमा मधेसमा आफ्नो स्थान बनाउन सफल भएको छ भने राउतको मुद्दा र विचारले पनि स्थान पाएका छन्।

२०७४ सालमा २ सिटमा समेटिएको एमाले अहिले ९ सिटसहित पहिलो दल बन्दा इन्चार्जको भूमिकामा रहेका एमाले सचिव रघुवीर महासेठ आफ्नो लक्ष्यमा सफल भएका देखिन्छ । त्यति मात्र होइन, मधेसमा टुट र फुट भन्दा पनि जुट र एकताको राजनीति सफल हुन्छ भन्ने उनको विश्वासमा जनताले लालमोहर लगाएका छन् । उता, उपेन्द्र यादव पुरानै मुद्दा र सत्तामा केन्द्रित भएको ठहर गर्दै जनताले आफ्नो अभिमत फिर्ता लिएका छन् भने राजेन्द्र महतोलाई अब आराम गर्ने अवसर दिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

महन्थ ठाकुरलाई मधेस राजनीतिमा जनताले अभिभावकको भूमिकामा देख्न चाहेको उनीहरूको निष्कर्ष छ। अब मधेसको नेता को त ? भन्ने प्रश्नमा अहिलेको मत परिणामले सङ्केतिक जबाफ दिएको देखिन्छ । एमालेका महासेठ, जनमत पार्टीका राउत, लोसपाका ठाकुर जस्ता नेतालाई नै अब मधेसका जनताले आफ्नो नेताका रूपमा हेर्न चाहेका देखिन्छ ।

सीकेप्रति बढ्दो विश्वास

पहिलो पटक चुनावमार्फत जनताको अभिमत लिन मैदानमा उत्रिएका सीके राउत विशेषतः मधेस केन्द्रित नेताकै रूपमा चिनिन्छन् । विगत लामो समयदेखि मधेस केन्द्रित मुद्दाका विषयमा उनले आवाज उठाउँदै आएका छन् ।

मधेसलाई प्रदेशभन्दा पनि छुट्टै देश बनाउनुपर्छ भन्ने गलत धारणा बनाएका उनी पछिल्लो समय मधेसका जनताको अधिकार र आवश्यकताका विषयमा वकालत गर्दै हिँडेका छन्। यही कारण उनी मधेसी जनतामा रुचाइए । अबको परिवर्तन राउतबाटै सम्भव हुने देखेका उनीहरू राउतलाई नै आफ्नो नेताका रूपमा स्वीकार गर्ने पक्षमा रहेका मत परिणामले देखाइसकेको छ ।

महासेठलाई मानेको मधेस

त्यस्तै, मधेसमा रघुवीर महासेठले एमालेको कमान्ड लिएपछि एमालेको ओरालो यात्रामा विश्राम लागेको छ । साथै, उनलाई मधेसमा राम्रो पक्कड भएका नेताका रूपमा पार्टीले हेर्दै गर्दा उनी आफैँ पनि मधेसमा रुचाइएका नेताको सूचीमा सामेल भएका छन् । मधेसमा एमालेलाई शून्यमा झार्ने प्रयास असफल बनाउने महासेठ यस पटक आफू मात्र विजयी भएनन्, मधेसमा एमालेलाई पनि विजयी बनाए।

एमालेका एक नेताका अनुसार प्रतिनिधिसभामा मधेस प्रदेशका ३२ वटा सिटमध्ये एमालेले ९ र प्रदेशसभाका ६४ वटा सिटमध्ये १५ वटा सिटमा जित दिलाउने श्रेय महासेठलाई जान्छ। उनी भन्छन्, ‘महासेठले आफूलाई मधेसको नेताका रूपमा स्थापति गराएकै कारण एमालेलाई कुनै समय मधेसविरोधी पार्टीको रूपमा हेर्ने त्यो नजर मधेसमा अहिले बदलिएको छ।’

अभिभावकका रूपमा महन्थ ठाकुर

संविधान जारी गर्दाताका मधेसमा चलेको आन्दोलन होस् वा पार्टीभित्रको मनमुटाव, लोसपाका नेता महन्थ ठाकुर कहिल्यै पनि विवादमा तानिएनन् । कांग्रेसभित्र रहेको आफ्नो प्रतिष्ठा र खाँदै गरेको मन्त्री पद नै मधेसका जनताका लागि त्याग गरेका उनी त्यस समय राष्ट्रपति बनाउन खोजिएका व्यक्ति पनि थिए।

उनै ठाकुरलाई अहिले मधेसका जनताले आफ्ना प्रतिनिधिका रूपमा चुन्दै गर्दा मधेसका अन्य नेता पनि उनलाई आफ्नो अभिभावकको रूपमा स्विाकार गर्न हिच्किचाउँदैनन्। ठाकुरको पार्टीभन्दा पनि उनको व्यक्तित्वलाई मान्ने मधेसी जनता र नेताहरू धेरै छन्।

परिवर्तन चाहने मधेसका जनताले आफ्नो नेता नै परिवर्तन गर्दै गर्दा अब पुराना नेता र तिनका पुरानै मुद्दा कसरी किनारा लाग्छन् ? त्यो समयले बताउला । तर, यथार्थचाहिँ के हो भने, मधेसमा राजनीति गर्न अब ठूला र अपत्यारिला भाषण भन्दा पनि रोजीरोटीको सुनिश्चितता र समयले माग गरेका मुद्दा नै पहिलो प्रथमिकतामा रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्