२३ स्वतन्त्र सांसद उदाउन लाग्यो ६४ वर्ष



  • रमेश पौडेल

काठमाडौं । गत स्थानिय तह चुनावमा काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ स्वतन्त्र रूपमा विजय भएसँगै स्वतन्त्र उम्मेदवारको लहर चल्यो। त्यसको लगत्तै भएको प्रतिनिधिसभाको चुनावमा ८६७ जनाको स्वतन्त्र उम्मेदवारी पर्‍यो। तर, अन्तिम परिणाम आउँदासम्म ५ जना स्वतन्त्र उम्मेदवारले चुनाव जिते ।

अहिलेको चुनावमा मात्र होइन, विगत २०१५ सालदेखि भएका ७ वटै चुनावमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेको निर्वाचन आयोगको तथ्याङ्क छ ।तर, त्यसरी प्रतिनिधिसभामा चुनाव जित्ने काठमाडौंका बालेन र धरानका हर्क जस्तै स्वतन्त्र उम्मेदवार भने होइनन् । पहिले कुनै दलमा आवद्ध भएका वा कुनै दलमा लामो समय बसेका तर चुनावका बेला टिकट नदिएपछि स्वतन्त्र भएका उम्मेदवारहरू हुन् ।
अहिलेको चुनावमा जित्ने ५ जना पनि कुनै न कुनै दलमा आबद्ध भएका र पछि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर जित हात पारेका नै छन् ।

रौतहट– ३ बाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जितेका प्रभु साह लामो समय माओवादीमा थिए । पछि माओवादी र एमाले मिलेर बनेको नेकपा भए । नेकपा फुटपछि उनी एमालेमै रहे । उनले एमालेले दिने भनेको टिकट लत्याएर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भए । त्यसरी हेर्दा निर्वाचन आयोगका अनुसार उनी स्वतन्त्र भएपछि लामो समयदेखि कुनै पार्टीभन्दा बाहिर छैनन् ।

साह मात्र होइन, अहिले निर्वाचित अन्य ४ जना स्वतन्त्र पनि कुनै पार्टीमा अवद्ध भएका नै छन् । मोरङ– ४ बाट निर्वाचित योगेन्द्र मण्डल एमालेले गठबन्धन गरेर जसपालाई उम्मेदवार बनाएपछि स्वतन्त्र भएका थिए । मण्डलले टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भएर जित हात पारे । उनी पनि लामो समयसम्म पार्टीकै राजनीतिमा थिए तर आयोगका अनुसार उनी पनि स्वतन्त्र नै हुन् ।

सलार्ही– ४ बाट स्वतन्त्रको हैसियतले निर्वाचित भएका अमरेशकुमार सिंह पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । २०७० र २०७४ सालका चुनावमा कांग्रेसका तर्फबाट उम्मेदवार भएर जितेका सिंह यस पटक भने स्वतन्त्रको हैसियतमा निर्वाचित भए । रौतहट– २ बाट स्वतन्त्र रूपमा चुनाव उठेर विजयी भएका किरणकुमार साह पनि केही समय अगाडि मात्र एमाले प्रवेश गरेका थिए । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।

बर्दिया– २ बाट स्वतन्त्र रूपमा निर्वाचित भएका लालवीर चौधरीलाई रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको सहयोग थियो । निर्वाचित हुने लालवीर रेशमका बुबा हुन् । रेशमको उम्मेदवारी खारेज भएपछि उनका बुबाले चुनाव जितेका हुन् । त्यस कारण लालवीर नाउपाकै सांसद हुन् । त्यसरी हेर्दा अहिले स्वतन्त्र हैसियतमा जितेका सबैजसो उम्मेदवार कुनै न कुनै राजनीतिक दलसँग आवद्ध भएका नै देखिन्छन् । प्राविधिक रूपमा वा निर्वाचन आयोगको तथ्याङ्कमा उनीहरू स्वतन्त्र भए पनि वास्तवमा भने होइनन् ।

अहिले स्वातन्त्र रूपमा निर्वाचित भएका पनि पछि गएर कुनै दलसँग आवद्ध हुन सक्ने सम्भावना पनि त्यतिकै छ । विगतका दृष्टान्तमा पनि त्यसरी स्वतन्त्र रूपमा चुनाव जितेका धेरै उम्मेदवारहरू पछि गएर कुनै न कुनै पार्टी प्रवेश गरेका छन् । २०४८ सालमा स्वतन्त्र हैसियतमा ३ जना निर्वाचित भए । त्यसबेला पनि ती ३ जनालाई पार्टीले टिकट नदिएका कारण स्वतन्त्र उठेका थिए ।

त्यसरी निर्वाचित हुनेमा सिरहा– ४ बाट राजदेव गोइत, रौतहट– ३ बाट गोविन्द चौधरी र बागलुङ– ३ बाट ओमकारप्रसाद गौचन थिए । उनीहरूलाई कांग्रेसले टिकट नदिएका कारण स्वातन्त्र उम्मेदवार भएर जितेका थिए । तर, उनीहरू निर्वाचित भएपछि कांग्रेसमै फर्किएका थिए। २०५१ सालको मध्यावधि चुनावमा पनि ७ जना स्वतन्त्रले जितेका थिए।

त्यसबेला संयुक्त जनमोर्चा, राष्ट्रिय जनामोर्चा र नेपाल मजदुर किसान पार्टी जस्ता पार्टीले ३ प्रतिशत मत कटाउन नपाउँदा यी पार्टीका विेजेताहरू स्वतन्त्रकै हैसियतमा सांसद भएका थिए। जो स्वतन्त्र रूपमै उठेका थिए, उनीहरू पनि दलले टिकट नदिएर उम्मेदवार भएका थिए । पछि उनीहरू फेरि पार्टीमै फर्किएर गएका थिए।

त्यसरी प्रवेश गर्नेमा मनाङबाट निर्वाचित पाल्टेन गुरुङ कांग्रेसमा, कांग्रेसबाट विद्रोह गरेर महोत्तरी–४ बाट निर्वाचित शरत्सिंह भण्डारी पछि मधेस केन्द्रित दलमा, रूपन्देही– ४ बाट निर्वाचित ज्योतेन्द्रमोहन चौधरी राप्रपामा प्रवेश गरेका थिए। २०५६ सालको चुनावमा भने कोही पनि स्वतन्त्र उम्मेदवारले जित हात पार्न सकेनन्। त्यसपछि २०६४ सालको पहिलो संविधानसभाको चुनावमा भने २ जना स्वतन्त्रले जित हात परेका थिए।

जित हात पार्नेमा रौतहट– १ बाट बबन सिंह र सप्तरी– ५ बाट सदरुल मियाँ हक थिए । सिंह मधेस केन्द्रित दलका बागी उम्मेदवारको रूपमा थिए, पछि उनी एमालेका प्रवेश गरे । मियाँ निर्वाचित भएको केही समयपश्चात् हत्या गरिएको थियो । २०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि २ जना स्वतन्त्र हैसियतमा निर्वाचित भएका थिए । तर। पछि ती दुवै जना पार्टीमा प्रवेश गरेका छन् । महोत्तरी– ४ बाट जितेका चन्द्रेश्वर झा पछि राप्रपामा प्रवेश गरे भने कपिलवस्तु– २ बाट निर्वाचित भएका अतरहर कमाल मुसलमान पछि कांग्रेसमा प्रवेश गरे ।

२०७४ सालको चुनावमा प्रतिनिधिसभातर्फ १ जना मात्र स्वतन्त्र हैसियतमा निर्वाचित भए । माओवादीबाट टिकट नपाएर विद्रोह गरेर स्वतन्त्र उम्मेदवारले चुनाव जितेका थिए । पछि उनी फेरि माओवादीमै फर्किए । हुम्लाबाट छक्कबहादुर लामा स्वतन्त्र रूपमा निर्वाचित हुनासाथ लामाले आफू माओवादीकै सांसद हो भनेका थिए । त्यसरी हेर्दा स्वतन्त्र रूपमा प्रतिनिधिसभामा आएका देखिए पनि उनीहरू कुनै दलसँग आवद्ध भएरै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्