सामाजिक विकृति, एड्स र यौन



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । एक्वायर्ड इम्युनो डेफिसियन्सी सिन्ड्रोम अर्थात् एड्सले बीसौँ शताब्दीको अन्त्यदेखि विश्वको ध्यानाकर्षण गराएको छ। यो समस्या हो शरीरको, संसारको वा सबैको। त्यसो त समस्या संसारको धेरै छ, गरिबी, अशिक्षा, अशान्ति, विभिन्न प्रकोप, रोग, यसमा पनि बढी मधुमेह, उच्च रक्तचाप, क्यान्सर, कोरोना, भाइरस थरिथरि छन्– भयावह सिर्जना गर्ने, निद्रा हराम गर्ने त्रासदीय सन्नाटाहरू।

यो संसारमा मान्छे किन जन्मन्छ ? झण्डै ८ अर्ब मर्नकै लागि मात्र जन्मिएका हुन् त ? उसो भए मङ्गल ग्रहको खोजी र नासाको यात्रा नै किन ? त्यसो त यो देखिएको संसार एउटा हो विज्ञानले भनेको, पूर्वीय दर्शनले त अनेकौँ ब्रह्माण्ड, अनेकौँ सूर्य छन् भनेको छ । कमसेकम १२ वटा सूर्यका नाम त अहिले पनि तोकिएकै छ– भानु, भाष्कर, रवि आदि।

त्यसो त एड्सको ओखती थिएन, जतिबेला १२ वर्ष मुस्किलले मान्छे बाँच्थ्यो, जहिलेदेखि यसको सङ्केत देखियो। अब विज्ञानले ओखती पत्ता लगायो र पनि रोग छ। मर्नेको सङ्ख्या घटायो, सङ्क्रमण त बढेकै छ। र त हरेक दिन १४ हजारको सङ्ख्याले मापन हुन्छ एड्स सङ्क्रमणको सङ्ख्या। सन् १९८१ मा जतिबेला अमेरिकामा सङ्क्रमण देखियो, औषधि थिएन, अहिले ओखती छ यसको र नियमन तथा रोकथाम गर्ने निकाय पनि धेरै छन् ।

हाल संसारमा ३ करोडभन्दा बढी सङ्ख्यामा सङ्क्रमित छन् र आफू सङ्क्रमित भएका मध्ये ७० प्रतिशत मान्छे थाहै पाउँदैनन् सङ्क्रमित छु भन्ने । पहिले त परीक्षणमा पनि डराउँथे, परीक्षण र ओखती निःशुल्क छ अहिले। पुरुषले पुरुषैसँग गर्ने यौन सम्मर्क, सुईबाट नशालु औषधि सेवन, असुरक्षित यौन सम्पर्क, परीक्षणबिनाको रक्तदान, रोजगारीमा छलाङ मार्नेगरी स्वदेश, विदेशको भागदौड, सवारी चालकहरूसँगको जथाभावी यौन आकर्षण र सम्पर्क धेरै छन् यसका वृद्धिका कारणहरू।

त्यसो त एचआईभी एड्सका केही विधिहरू पनि छन् निराकरणका लागि, जसलाई एबीसी मेथडको नामले सम्झन सजिलो छ। ‘ए’को अर्थ एक्स्टेन्सन भनौँ यौन सम्पर्कै नगर्ने, ‘बी’को अर्थ बिट्विन टु पार्टनर भनौँ श्रीमान्–श्रीमती मात्र र ‘सी’को अर्थ हुन्छ–कण्डम अर्थात् सम्पर्क गर तर कण्डम प्रयोग गरेर।

सन् १९८८ देखि विश्व तात्यो यसमा र हरेक वर्ष १ डिसेम्बरलाई यसको दिवसका रूपमा मनाउन पनि थाल्यो। नेपालमा स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय एड्स तथा यौन नियन्त्रण केन्द्रले यसबारे काम गरिरहेको छ। यसका अनुसार २०७७ सालको एड्स दिवस मनाइरहँदा पुरुष १७ हजार ५८७ र स्त्री ११ हजार ९१६ गरी जम्मा २९ हजार ५०३ जनाको सङ्क्रमित सङ्ख्या बताएको थियो।

यहाँ ८० प्रतिशत सङ्क्रमितहरू असुरक्षित यौन सम्पर्कबाटै हुने गरेका छन्। यसको जोखिममा ५ प्रतिशत छन्, २०७७ असारसम्मको तथ्याङ्कमा ६६ प्रतिशत अर्थात् १९ हजार ४०० जना मात्र उपचारमा संलग्न भएका र हाम्रो सन्दर्भमा वृद्धि दर १ प्रतिशतभन्दा कम छ।

सन् २०१० को तुलनामा सन् २०१९ मा आइपुग्दा नयाँ सङ्क्रमणको दर ६४ प्रतिशतले घटेको छ। बालबालिकामा भने यो क्रममा ८५ प्रतिशतले कमी आएको छ। एड्सले नै मर्नेको सङ्ख्या ८५ प्रतिशतले घटेको छ । पङ्क्तिकारले जतिबेला झण्डै ३२ वर्षअघि यससम्बन्धी एक अध्ययनमा संलग्न भई प्रतिवेदन बुझाउँदै थियो, सम्बन्धित निकायमा, स्थिति भयावह थियो, अहिले करिब सामान्य देखिन्छ यस विषयमा।

करिब २२ वर्षअघि यस शताब्दीको सुरुतिर १४ देखि ५० वर्ष उमेर समूहका विश्वका ३ करोड ६१ लाख मानिसहरू यसबाट सङ्क्रमित भएर बाँचिरहेका थिए भने यसमा आधा सङ्ख्या महिलाकै देखिन्थ्यो। सन् २००४ मा आइपुग्दा ३० लाख जनाले एचआईभी एड्सबाट ज्यान गुमाए।

जहाँ गरिवी र अशिक्षा छ, यौन धन्दा बढी हुने, चेलीबेटी बेचबिखन हुने, खुला सिमानाका कारण मानव ओसारपसार, वेश्यावृत्ति, शिक्षा आर्जनको चाहनामा शिक्षकहरूबाटै यौन तृष्णा, आफन्तबाटै यौन पिपासुको घेराबन्दी, लैङ्गिक विभेद, पर्यटन, पर्यटकको देखासिकी, धेरै खर्चबर्चको चाहना, व्यापारिक काम, पेसागत काम कारबाहीले स्त्री–पुरुषको सदाबहार भेटघाट, धेरै विषय गुप्त रहने, पद, प्रतिष्ठाको लोभ र शारीरिक भोकले यौन कार्यलाई सामान्य रूपमा बुझिदिँदा पनि यस्ता रोगबाट मानिसलाई समस्या खडा गरेको देखिन्छ ।

धेरै यस्ता रोगी भएको स्थान अफ्रिका हो, बालबालिका पनि त्यहीँ बढी सङ्क्रमित छन्, मृत्युको सिकार हुने सङ्ख्या त्यहीँ बढी छ। विश्व स्वास्थ्य सङ्गठन भन्छ– सन् २०१५ मा आइपुग्दा संसारमा ११ लाख मानिसले यस रोगबाट ज्यान गुमाए। यो रोग आफैँमा रोग नभएर इम्युन सिस्टमको कमजोरी, रोग प्रतिरोधात्मक क्षमताको कमी हो।

नेपालमा यससम्बन्धी रोग निराकरणका लागि विगत ५ वर्षमा मात्र ११ करोड ४७ लाखभन्दा बढी अमेरिकी डलर वा १० अर्ब ९ करोड रुपैयाँ रकम छुट्याइसकेको एक तथ्याङ्क छ । यसअघि पनि धेरै रकम विदेशीहरूले दिएका हुन् । बढी सङ्क्रमित हुने हाम्रो सन्दर्भमा १५ देखि ४० वर्ष समूहका किशोर–किशोरीहरू छन् । रोजगारीका सिलसिलामा धेरै जनशक्ति बाहिर रहेका, अपरिचितसँगको यौन सम्पर्कले यो रोग बोकी ल्याएका घटनाहरू पनि धेरै छन् ।

पूर्वीय दर्शनले यौनलाई आजको जस्तो खुला राखेको थिएन । विवाहपूर्व यौन सम्पर्कलाई पाप भनेको थियो, वास्तवमा पाप भन्नु प्रदूषण नै हो। आजको जस्तो बिहेबारीमा उमेरको ढिलाइ पनि थिएन, दिदी–बहिनीहरू केटा साथी बनाउन हम्मेसी तयार हुँदैनथे। विभिन्न कथा कुथुङ्ग्रीहरू बनाएर यसबारे सतर्क रहने गरी शिक्षा दिन्थे, हाम्रा पूर्वजहरू।

बाबुआमाको इज्जत, प्रतिष्ठा सम्झन्थे । बहकाउमा नलाग्न नैतिक शिक्षा दिन्थे । जग्गेमा चरु होम गरेर अग्नि साक्षी राखेर जन्ती, बरियात, पूरा इष्टमित्रलाई देखाएर, सम्धी, सम्धेलो गराएर केटा–केटीको इज्जत, औकात, प्रतिष्ठा हेरेर, ढोग, भेट गरेर, औपचारिक सिउँदोमा सिन्दूर भरेर विवाह गर्ने चलन थियो।

परीक्षणका लागि विवाहलगत्तै दुलही भित्र्याएपछि मात्रिका स्थापना गरेको कोठामा दम्पति सुतेर भोलिपल्ट जग्गे बनाई बच्चा पाएको थाङ्ना धोएको प्रतीकका रूपमा खट्कुँडोमा सबैले देख्नेगरी मैला कपडा धुने, अघिल्लो जग्गेमा औपचारिक जुठो खाने÷खुवाउने चलन थियो।शारीरिक सम्पर्कको प्रमाणित र कुनै कमजोरी भए गुनासो पोख्ने गरी १६ दिनभित्र ससुराली जाने, जसलाई १६ दिने साइत या दुलहन फर्काउने भनिन्थ्यो । अब त्यसो रहेन । गर्भ बोकेको ६ महिनामा मन्दिर गएर सिन्दूर हाल्ने वा ‘कोर्ट म्यारिज’ गर्ने प्रथा आयो ।

विदेशमा त रिहर्सल पति–पत्नीको पहिल्यै हुन्छ भन्ने सुनिन्छ । यहाँ पनि त्यही सिको भएको देखिन्छ । विदेशमा पारपाचुके गर्नेको सङ्ख्या पनि धेरै देखिन्छ । यतातिर पनि सम्बन्ध भत्किएका घटनाहरू धेरै छन् । सत्य युगमा पार्वतीले तीजको व्रत बसेको धर्म पत्नी र पति देव बनाउन हो । हिजोआजको व्रत ‘हस्बेन्ड’ र ‘ब्वाई फ्रेन्ड’का लागि भएको छ । अझ एक कदम अघि सरेर ‘ब्वाई फ्रेन्ड’ र ‘गर्ल फ्रेन्ड’का लागि भएको छ । विज्ञानले सन्तानोत्पादनमा एक्स र वाई क्रोमोजोम भनेको छ ।

पूर्वीय दर्शनले प्राकृत नारी रजस्वलाको जोर रात्रिको सम्पर्कले छोरो पाइने र बिजोर रात्रिको यौन समागमले छोरी हुने भनेको छ । भनौँ, रजस्वलाको ४ दिन यौन सम्पर्क वर्जित छ र ६, ८, १०, १२, १४, १६ दिनको रात्रिको सम्पर्कले छोरोको बीजारोपण हुने गर्छ । ५, ७, ९, ११, १३ र १५ दिनको रात्रिले छोरीको बीजारोपण हुने हुन्छ । सामान्यतया त्यसपछि अर्को रजस्वला नभएसम्म गर्भ बस्दैन ।

१ महिनामा शिर बन्ने, दुई महिनामा हात, खुट्टालगायत अङ्ग तयार हुने, तेस्रो महिनामा पुरुष, स्त्री छुट्टिने अङ्ग बन्ने हुन्छ । हिजोआज चिकित्सकहरूले १२ सातापछि अल्ट्रासाउन्ड पद्धतिबाट छोरो वा छोरी गर्भमा छुट्याउन सक्छन् र कानुनले १२ सातापछिको गर्भपतनलाई अवैध भनेको छ ।

६ महिनापछि बालकले आमाको दायाँ पेटमा रही खेल्न थाल्ने र आमाले खाएका खानाबाट रस पुष्टि भई ९ मास पूरापछि सूतिका वायु वेगबाट आमाको गर्भबाट बालक जन्मने हुन्छ । हिजोआज चिकित्सकले यही अनुमानमा ‘डेलिभरी’को समय दिन्छन् । कतिलाई शल्यक्रिया गर्नुपरेको पनि देखिन्छ ।

वैवाहिक कार्य भनेको असल गृहस्थ जीवनको आरम्भ मान्दै दाम्पत्य प्रेमबाट सुखी जीवनको परिकल्पना गरेको छ शास्त्रले । असल सन्तति प्राप्तिका लागि धर्म गर्नुपर्छ भनेको छ । वीर्य संरक्षण गर्नुपर्ने, त्यसले शरीरमा शक्ति सञ्चय हुने भनेको छ । निरोगी पुरुषमा ४ माना जम्मा शुक्रकीट र स्त्रीमा जम्मा २ माना शोणित हुन्छ । शुक्र र शोणितको संयोगले नै बच्चा पैदा हुने हो, त्यसैले यो उद्यम वा कुनै व्यवसाय अथवा धन्दा होइन ।

यसको निश्चित मर्यादा हुन्छ । जब मर्यादाको सीमा तोडिन्छ अनि कोरोना जस्तै भयभीत हुनेगरी रोगहरू बल्झने गर्छन्। हिजोआजको जस्तो खुला व्यवहार र पारदर्शी अङ्ग प्रदर्शनलाई कमसेकम लज्जाको विषय मानेका छन्–धर्म, संस्कृति र संस्कारले। निश्चय पनि समय गतिशील छ। यसो भन्दैमा बलवान् समयलाई नजरअन्दाज गर्दा समस्या बल्झने आफैँलाई हो, समाजलाई हो, संसारलाई हो।

जुन कुरा गोपनीय छ, त्यसलाई बढी खुला गर्दा त्यसको महत्व कम हुन सक्छ । शास्त्र कहिल्यै सस्त्र बोकेर आउँदैन, साङ्केतिक रूपमा बुझ्नुपर्ने हुन्छ । पशु, पक्षीमा जस्तो यो विषय खुला हुने होइन।

मनको सङ्कल्पले पनि यौन यौन नै हो, विषय पाप नै हो, अघिअघि आमा–छोरा नै भए पनि उमेरको हदसम्म कोठामा एकान्तमा एकै ठाउँमा बस्नुहुँदैन भनिन्थ्यो । उमेरको हदमा आमाले बचपनमा सर्वाङ्ग स्याहार सुसार त गर्ने नै हो।

प्रतिक्रिया दिनुहोस्