ढुक्क हुुनुहोस्, माओवादीले गठबन्धनलाई घात गर्दैन : रेखा शर्मा



रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले अहिलेको गठबन्धनलाई आफ्नो पार्टीले कुनै घात नगर्ने बताएकी छन् । उनले सत्तारुढ दलको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रधानमन्त्री दावी गर्नु स्वभाविक भएको बताइन् ।

दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित शर्माले रिपोटर्स क्लब लुम्बिनीले शुक्रबार बिहान बुटवलमा आयोजना गरेको कार्यक्रममा गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी स्वाभाविक रहेको बताएकी हुन् ।

उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिका टिप्पणी आवश्यक नरहेको बताइन् । उनले माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित छलफल गरेर प्रधानमन्त्री टुङ्गिने बताइन् ।

उनले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रह गरिन् । शर्माले पार्टीले जुनसुकै मन्त्री दिए पनि स्वीकार्दै त्यसको जिम्मेवारी पूरा गर्न सक्षम रहेको दाबी गरिन् ।

गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री भनी हाल्ने अवस्था नरहेको उनको भनाइ छ । उनले गठबन्धनकै बलमा एमालेका महासचिव शंकर पोखरेललाई दाङबाट पराजित गर्न सकिएको बताउँदै गठबन्धन सफल भएको दाबी गरिन् ।

लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले सम्भव भएको उनले बताइन् । उनले पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको बताइन् ।

राजनीतिक दलहरूले युवाहरूलाई पनि सम्मानजनक रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिँदै युवाहरूको जबरजस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने उनको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्