जग्गा विवादलाई लिएर झगडा हुँदा १ जनाको मृत्यु, ४ घाइते



धनुषा । धनुषामा जग्गा विवादलाई लिएर दुई छिमेकीबीच झगडा हुँदा १ जनाको मृत्यु भएको छ । भने अन्य ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका– ४ बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् ।

मृतककी श्रीमती महाजनी यादव, जेठो छोरा जगरनाथ यादव, माइलो छोरा सन्तोष यादव र कान्छा छोरा अकोश यादव घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार जनकपुरको प्रदेशिक अस्पतालमा भइरहेको छ । घाइतेमध्ये सन्तोष यादवको अवस्था चिन्ताजनक रहेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

घाइते अशोक यादवका अनुसार बिहीबार राति ८ बजेको समयमा खाना खाएर घरको बरन्डामा आगो तापिरहेको वेला स्थानीय सुरज यादवले १०-१२ जनाको समूहमा घरेलु हतियारसहित आएर आक्रमण गरेका थिए। प्रभु यादवको घटनास्थलमै मृत्यु भएको छोरा सुरजले बताएका छन् ।

मृतक प्रभु र स्थानीय सुरजको खेत सँगै जोडिएको छ । सो खेतको आलीको विषयमा दुई महिनादेखि उनीहरूको विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायव उपरीक्षक दीपक रायले बताए । प्रहरीले घटनामा आरोपितमध्ये ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्