उपमहासचिव गुरुङको दाबी : संघ र सातै प्रदेशमा सरकार बनाउने हैसियत एमालेको छ



काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिन प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताए ।

मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क थियो । उनले संघ र ७ वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबी समेत गरेका छन् । अब एमालेकै पहल र नेतृत्वमा सरकार बन्नुपर्ने पनि उपमहासचिव गुरुङको भनाइ छ ।

उपमहासचिव गुरुङले एमाले नेतृत्वको सरकार बनाउने कामलाई सार्थक निष्कर्षमा पुर्‍याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्