क्यामरुनसँग हार्‍यो ब्राजिल



काठमाडौं । कतार विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएको छ। लुसैल स्टेडियममा शुक्रबार मध्यराति भएको खेलमा ब्राजिल क्यामरुनसँग १-० गोल अन्तरले पराजित भएको हो। दोस्रो हाफको इन्ज्युरी समयमा भिसेन्ट अबुबाकरले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए।

अबुबाकर गोल गरेपछि जर्सी फुकालेर उत्सव मनाउँदा दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाड्न पुगे। दोस्रो हाफको अतिरिक्त समयमा क्यामरुन १० खेलाडीमा सीमित बनेको थियो। खेलको ८१ औँ मिनेटमा पहिलो पँहेलो कार्ड पाएका उनले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो पँहेलो कार्ड खाँदै मैदान छाडे।

समुह चरणको पहिलो खेलमा सर्वियालाई २-० ले हराएको ब्राजिलले अर्को खेलमा स्विटजरल्याण्डलाई १-० ले पाखा लगाएको थियो। अन्तिम १६ मा ब्राजिलले दक्षिण कोरियासँग खेल्नेछ। २ खेलमा नै नकआउट चरण सुनिश्चित गरेको ब्राजिलले क्यामरुनविरुद्ध दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेको थियो।

प्रतिक्रिया दिनुहोस्