मानवअधिकार हननले बदनाम विश्वकप



एजेन्सी । दर्शकको उत्साह, ताली र गोलको उत्सव विश्वकप फुटबलका विशेषता हुन्। तर, यस पटकको कतार विश्वकप, २०२२ त्यसभन्दा फरक देखियो। प्याराफिटमा देखिएका केही दृश्यले खेलकुदको मर्यादामा नै आँच पुर्‍याएका छन्। दर्शकबाट खेलाडी र टोलीमाथि भएको भेदभाव र दुर्व्यवहारका कारण फिफाले धेरै विषयमा छानबिन गरिरहेको छ।

केही टोलीमाथिको छानबिन जारी छ  मङ्गलबार मात्र फिफाले क्रोएसिया र क्यानाडाबीच भएको खेलमा दर्शकको व्यवहारलाई लिएर छानबिन गर्ने जानकारी गराइसकेको छ। क्रोएसियाका समर्थकले क्यानाडाका गोलरक्षक मिलन बोर्जानको पारिवारिक पृष्ठभूमिलाई लिएर असभ्य व्यवहार गरेका थिए। क्रोएसिया समर्थकले बोजार्नलाई लक्षित गर्दै ट्र्याक्टर निर्माता लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। त्यस खेलमा क्यानाडा ४–१ ले पराजित भएको थियो।

सन् १९९४ मा युगोस्लाभिया विभाजन भएपछि धेरै आदिवासी समुदायले ट्र्याक्टर चढेर आफ्नो बासस्थान छाडेको थियो। बोर्जानको परिवार पनि त्यसैगरी ट्र्याक्टर चढेर क्रोएसिया पुगेको थियो। बोर्जानको परिवार सन् २०२० मा क्यानाडा गएको हो । मेक्सिको र इक्वेडरबीचको खेलमा पनि दर्शकले समलिङ्गीलाई लक्षित गर्दै त्यसै खाले हो हल्ला गरेका थिए। जातीय र लैङ्गिक कारणले रङ्गशालाको वातावरण नै खराब भएमा म्यान रेफ्रीका सामु खेल स्थगित गर्नेसमेतको अधिकार छ।

सन् २०१९ मा नै फिफाले पहिले निर्णय गरेको न्यूनतम जरिमानाको दरलाई नै बढाएको थियो। त्यसै वर्षको निर्णयअनुसार समर्थकले नियम मिचेमा कम्तीमा २० हजार स्वीस फ्र्याङ्क जरिमाना लाग्नेछ। कमसेकम १ खेलकै लागि भए पनि आंशिक रूपमा भए पनि रङ्गशाला बन्द गर्नुपर्नेछ।

फिफाको यो निर्णयसँगै धेरै टोलीमाथि सजाय भइसकेको छ। गत वर्ष यसै किसिमको घटना हुँदा मेक्सिकोलाई १ लाख स्वीस फ्र्याङ्क जरिमाना गरिएको थियो। समलिङ्गीमाथि लक्षित गर्दै हो हल्ला गरेका कारण विश्वकप छनोटका २ खेल खाली रङ्गशालामा खेलाइएको थियो।

छनोट खेलकै दौरान बेलायतका अश्वेत खेलाडीमाथि दुव्र्यवहार गरेका कारण हँगेरीले २ लाख स्वीस फ्र्याङ्क जरिमाना तिर्नुका साथै २ खेलमा समर्थकलाई प्रतिबन्ध लगाइएको थियो। समलिङ्गीमाथि प्रतिबन्ध लगाएका कारण कतारको आयोजना नै विवादमा परेको थियो। यसका विरुद्ध पाखुरा या टोपीमा इन्द्रेणी रङ्ग लगाइए पनि फिफाले यसलाई हटाउन भनेको छ। मानवअधिकारवादी सङ्गठनले यसमा आपत्ति जनाएका छन् ।

आयोजनाको निर्णयमा विवादित कतार विश्वकप भौतिक निर्माण संरचनाको क्रममा आप्रवासी कामदारको जीवनमाथि गरेको खेलबाडका कारण आलोचित भएको थियो। रङ्गभेद, एलजीबीटीक्यूमाथिको प्रतिबन्ध, हजारौँ आप्रवासी कामदारमाथिको दमनका कारण कतार विश्वकप इतिहासकै बदनाम विश्वकप बनेको छ । प्रायः गृष्म ऋतुमा हुने गरेको विश्वकप कतारको सहनै नसक्ने गर्मीका कारण जाडो याममा भएको छ।

कतार विश्कवपको खराब छाया इरानसम्म परेको छ। इरानी सरकारको विरुद्धमा प्रदर्शन गर्नेहरूले इरान राष्ट्रिय फुटबल टोलीको हारमा खुसियाली मनाएका छन्। त्यसै खुसियालीमा भएको गोली प्रहारमा केहीको ज्यानसमेत गएको छ।

प्रतिक्रिया दिनुहोस्