तरकारी खेतीमा नयाँ प्रयोग : जीवन निर्वाहका साधन बन्दै सलाइनका बोत्तल



सप्तरी । मानव शरीरमा पानीको मात्रा बढाउने र औषधि चलाउने अचूक अस्त्र हो– सलाइन पानी। यही सलाइन पानीका बोतल प्रयोग गरेर राजविराजका कृषकले भने तरकारीसँगै परिवारको त्राण भर्न थालेका छन्। पानी अभावमा फसल नै नहुने जग्गामा सलाइन पानीका बोतल तरकारीका बोटलाई मात्र होइन, कृषकलाई पनि जीवन निर्वाहका माध्यम बन्दै छन् ।

सिँचाइ अभाव टार्न कृषकहरूले नयाँ प्रविधिबाट तरकारी खेती पनि सुरु गरेका छन् । राजविराज–७ खरसाल टोलका सुखराम यादवले उपचारमा प्रयोग हुने सलाइन पानीको खाली बोतलमा ट्युबवेलको पानी भरेर तरकारीका बोटमा सिँचाइ गरी तरकारी खेती थालेका छन्।

बोटपिच्छे सलाइन पानीका बोतलमा मसिनो पाइप जडान गरी थोपाथोपा सिँचाइ गर्दा छुट्टै मानिस खट्नुपर्ने झन्झट टरेको उनको अनुभव छ। यस प्रविधिले समय र पैसा दुवैको बचतसँगै कम लागतबाटै राम्रो फाइदा लिन सफल भएको कृषकहरूको भनाइ छ ।

आधा कठ्ठा जग्गाबाट तरकारी खेती थालेका उनले अस्पतालमा प्रयोग भई खाली रहेका प्लास्टिकका सलाइन पानीका बोतल सङ्कलन गरी त्यसमा पानी भरेर बाँसको लठ्ठीमा झुण्ड्याई तरकारीका बोटमा सिँचाइ गर्न सुरु गरे । बोतलमा पानी भरेपछि थोपाथोपा गरी बोटको जरामा खस्ने र पानीको अभाव पनि नहुने उनको भनाइ छ। नयाँ तरिकाले सिँचाइ सुरु गरेको यादवको तरकारी बाली राम्ररी फस्टाउँदै गएको छ।
सिँचाइका लागि नयाँ तरिका अपनाएपछि आसपासका मानिसहरू समेत हेर्न आउँदा दिनैभर घुइँचो लाग्ने गरेको यादवले सुनाए। नागरिक सञ्जाल सप्तरीका अध्यक्षसमेत रहेका यादवले यसअघि जिल्लामा ल्याएको मुठिया चामल बचत योजना (घरघरमा १÷१ मुठी चामल दैनिक बचत गर्ने) नौलो कार्यक्रम पनि निकै प्रभावकारी र चर्चित बनेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्