मातृका यादवको दाबी : प्रचण्ड प्रधानमन्त्री बन्ने हो भने देशको कल्याण हुन्छ



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले अहिले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने हो भने देशको कल्याण हुने बताएका छन्।

पदाधिकारी बैठकका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘यदि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ, किनभने उहाँमा गतिशीलता छ, सबैसँग डिल गर्न सक्ने क्षमता छ।’ यादवले प्रचण्ड प्रधानमन्त्री बन्ने परिस्थिति छैन भनेर भन्न नमिल्ने पनि बताएका छन् ।

उनले विगतमा राप्रपाका लोकेन्द्रबहादुर चन्द एमालेको काँधमा चढेर, कांग्रेसको काँधमा चढेर सूर्यबहादुर थापा पनि प्रधानमन्त्री बनेको भन्दै अहिले आफूहरुको ‘अलायन्स’ भएकाले प्रधानमन्त्री बन्नका लागि कसैको पनि काँधमा चढ्नु नपर्ने बताएका छन् । एमालेको प्रधानमन्त्रीको अफर सम्बन्धमा राखिएको जिज्ञासामा उनले ‘अवसरवादी’को प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्