निर्वाचनपछि जनमत पार्टीको नयाँ यात्रा सुरू भयो : अध्यक्ष राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारेका हुन् ।

शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि रहेको जानकारी दिएका छन् । आफूलाई कतिपयले अन्तिम आशा समेत भनेकोमा आफूलाई डर लागिरहेको पनि बताए ।

अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पनि पटकपटक दोहोर्‍याएका छन् । त्यस अवसरमा उनले निर्वाचनमा ठुलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरूलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

उनले यो निर्वाचनपछि अब जनमत पार्टीको नयाँ यात्रा सुरू भएको बताए । राउतले सप्तरी-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्