भत्किएको मुहान मर्मत नहुँदा ४ सय हेक्टर जमिन बाँझै



झापा । एक वर्षअघि मेचीनगर नगरपालिका-१४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा ४ सय हेक्टर जमिन बाँझो रहेको छ । गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान भत्काएको थियो ।

४ वर्षअघि एसियाली विकास बैंकको ५ करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा ५ सय किसानको ४ सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो ।

वडा नं १४ का निवर्तमान अध्यक्ष शंकर पोखरेलका अनुसार नगरपालिका र डिभिजन सिँचाइ कार्यालय भद्रपुरले तत्काल परियोजना मर्मतका लागि पटकपटक प्रदेश सरकारसँग बजेट माग गरेका थिए । प्रदेश सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा परियोजनाको मर्मत अझै हुन नसकेको उनको भनाइ छ ।

उनले सो परियोजनाको मुहान मर्मतका लागि करिब १ करोड लाग्ने बताए । “परियोजना सञ्चालनमा आएपछि ५ सय घरपरिवारको जमिन सिञ्चित भएको थियो”, उनले भने, “अहिले अधिकांश जमिन बाँझै छ, कतिपयले आकासे पानीको भरमा लगाएको धान खेतीसमेत फस्टाएन ।”

उनले तत्काल परियोजना मर्मतका लागि स्थानीय र प्रदेश सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् । “खेती गर्ने पानीको अरू विकल्प छैन”, उनले भने, “तत्काल परियोजनाको मुहान मर्मतका लागि नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सासंदले पहल गरिदिनुहुन्छ भन्ने अपेक्षा छ ।”

प्रतिक्रिया दिनुहोस्