अपाङ्गता भएका व्यक्तिको विषयमा सरकार संवेदनशील बन्नुपर्छ : मन्त्री रेग्मी



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिको सवालमा तीनवटै सरकार संवेदनशील बन्नुपर्ने बताएकी छन् । अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग कोषले आज काठमाडौंमा आयोजीत कार्यक्रममा बोल्दै उनले अपाङ्गता भएका व्यक्तिको सवालमा ३ तहकै सरकार संवेदनशील बनेर काम गर्न जरुरी रहेको बताएका हुन् ।

“दुर्गम क्षेत्रमा शारीरिक अशक्त भएर बसेका व्यक्तिको सेवा प्रवाहमा स्थानीय सरकार बढी जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ”, उनले भने । सङ्घीय सरकार र प्रदेश सरकारले पनि अपाङ्गता भएका व्यक्तिहरूको सवालमा बजेट छुट्याएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री रेग्मीले स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूको सेवा, सुविधामा ध्यान नदिएको गुनासो आएको भन्दै मन्त्रालय गम्भीर बनेको बताएकी छन् । कार्यक्रममा राष्ट्रियसभाका सदस्य एवं दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले अपाङ्ग कोषले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग सामग्री निर्माणमा अझै जोडबल गर्नुपर्ने बताइन् ।

“अपाङ्ग भएका व्यक्तिहरूका लागि स्थानीय सरकारले सहायक सामग्री घर-घरमा नै लगिदिनुपर्छ”, उनले भने । स्थानीय तहले अपाङ्ग भएका व्यक्तिलाई सहयोगमा चासो नदिएको उनको भनाइ थियो । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारबाट पनि सोचेअनुसारको सहयोग प्राप्त नभइरहेको गुनासो गरेकी छन् । सभापति पन्थले पछिल्लो समय अपाङ्गता कार्डको दुरुपयोग भइरहेको भन्दै त्यस्तालाई कारबाही गर्न सकारसँग आगह गरेकी छन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले राष्ट्रिय अपाङ्ग कोषको कार्य र क्रियाकलाप साथै अपाङ्गता भएकाहरूका लागि चाहिने सामग्रीमा भएको कमीलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताइन् । कोषलाई आवश्यक सहयोगका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले अपाङ्गता भएका व्यक्तिहरूका लागि सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । तीनवटै तहका सरकारले मिलेर सहयोग गर्ने हो भने अपाङ्गता भएका व्यक्तिहरूले पाइरहेको समस्या र सास्ती कम हुने उनको भनाइ थियो ।

सोही अवसरमा कोषले अपाङ्गता भएर पनि समाजका विविध क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गरेको थियो । सो अवसरमा कोषका अध्यक्ष भट्टराईले फिजियोथेरापी, अकुपेसनलथेरापी, परामर्श सेवा, गेट ट्रेनिङ तथा सहायक सामग्री, कृत्रिम हातखुट्टा, क्यालिपर, अर्थोपेडिक जुत्ता, ह्वीलचियर, वैशाखी, वाकर, सेतो छडीलगायतका सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्