माओवादीले कसरी गुमायो आधार इलाका ?



  • विशाल बस्नेत

महोत्तरी । मधेस प्रदेशमा माओवादी केन्द्रको लालकिल्ला मानिएको महोत्तरी–१ स्थानीय निर्वाचनदेखि नै अन्य पार्टीको पोल्टामा परेको छ। माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा मात्र पराजय बेहोरेन, अघिल्लो निर्वाचनमा जितेको क्षेत्रको रामगोपालपुर नगरपालिकासमेत नेकपा एमालेको पोल्टामा पर्‍यो ।

क्षेत्र–१ को गौशाला नगरपालिकासमेत गुमाएको माओवादी केन्द्र विस्तारै आफ्नो आधार इलाकाबाट पनि डगमगाएको छ। यसअघि माओवादी केन्द्रले जरो गाडेको बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा क्रमशः नेपाली कांग्रेसका बागी उम्मेदवार प्रह्लादकुमार क्षेत्री र अहिले निर्वाचित सङ्घीय सांसद लक्ष्मी महतोका छोरा दीपेन्द्र महतोले जित हासिल गरे। तर माओवादी केन्द्रले लामो समयदेखि यथावत राखेको विरासत गुमाए पनि त्यसको समीक्षा गर्न सकेन ।

फलस्वरूप महोत्तरीमा माओवादी केन्द्र समानुपातिक मतको आधारमा छैठौँ स्थानमा खुम्चिएको छ। तर क्षेत्र–१ मा माओवादी केन्द्र अहिले पनि पहिलो छ। निर्वाचित सङ्ख्याका आधारमा भने प्रदेश (ख) मा मात्र माओवादी केन्द्रले विजय हासिल गर्‍यो भने बाँकी सङ्घ र प्रदेशमा एमालेले ह्याट्रिक गरेको छ । मनोनयन दर्ताको अघिल्लो दिन निर्वाचन जिताउने एमालेको अभियानअन्तर्गत नै एमालेबाट निर्वाचनमा होमिएका महतोले अन्ततः राष्ट्रिय राजनीतिका चर्चित अनुहार माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गरे ।

५ दलको अहिलेको समानुपातिक मत जोड्ने हो भने पोखरेललाई २५ हजार २४ मत आउनुपर्ने हो । तर ५ दलले प्राप्त गरेको समानुपातिक जम्मा मत पनि पोखरेललाई आउन सकेन । समानुपातिक मतपरिणाम अनुसार माओवादी केन्द्र आफ्नै १५ हजार ३९४, कांग्रेस ४ हजार ७७८, लोकतान्त्रिक समाजवादी पार्टी ३ हजार ९१५, नेकपा (एकीकृत समाजवादी) को ९६७ मत छ । जुन मतलाई पार्टीगत रूपमा प्रतिबद्ध मत मान्न सकिन् ।

यता लक्ष्मी महतोको समानुपातिक मतलाई आधार मान्ने हो भने उनले पाउनुपर्ने जम्मा मत १६ हजार १४५ मात्र हो । प्राप्त मतपरिणाम अनुसार एमालेको १२ हजार १६७ मत छ भने जसपाको ३ हजार ९७८ छ । यसरी हेर्दा माओवादी केन्द्रका पोखरेलले २ हजार ६५२ मत कम पाएका छन् भने एमालेका लक्ष्मी महतो कोइरीले ७२५७ मत बढी पाएका छन्। समानुपातिक मतपरिणामका आधारमा स्थानीयको विश्लेषणअनुसार कतै जातीय मत र कतै लामो समयदेखि माओवादी केन्द्रले बनाएको आधार इलाकाबाट जनसम्पर्क र जनअपेक्षा अनुसार काम नभएकालाई मुख्य कारक भएको बताइन्छ।

स्थानीय निर्वाचनदेखि नै माओवादी केन्द्रभित्र असमझदारी र असन्तुष्टि समतमा आएको छ। क्षेत्र–१ मा नै गौशाला नगरपालिकामा अहिले निर्वाचित भरतप्रसाद साह र तत्कालीन नगरप्रमुख शिवनाथ महतोले अन्तर्घात गरेको आरोप–प्रत्यारोप प्रदेश र सङ्घको निर्वाचनसम्म आइपुग्दा पनि निवारण हुन सकेन । परिणामस्वरूप स्थानीय निर्वाचनमा उनीहरूकै कारण पार्टी पराजय भोगेको छ । यता स्थानीय तहकै निर्वाचनमा बर्दिबास नगरपालिकामा राजु खड्का पराजय हुनुमा पार्टीकै नेताहरूको हात रहेको आरोप सुरु भयो।

त्यसको मुख्य योजनाकारका रूपमा खड्का पक्षले गिरिराजमणि पोखरेललाई आरोप लगाउन सुरु गर्‍यो । पोखरेलका निकट मानिएका पूर्वनगर प्रमुख विदुर कार्कीलगायत नेताहरू खड्कालाई हराउन नै लागेको आरोप लाग्दै आएको छ । यी आरोपलाई न पोखरेल पक्षले खण्डन गर्न सक्यो न त खड्का पक्षले अन्तर्घात भएको छैन भन्ने विषयमा विश्वस्त बनाउन सक्यो । जसका कारण माओवादी केन्द्रले अहिले जिल्लाको बलियो आधार इलाका गुमाएको छ ।

एमालेलाई पहिलो गाँसमै ढुङ्गा

माओवादी केन्द्रभित्रका असन्तुष्टि, जननिराशा र अन्तर्विरोधका कारण एमालेले सफलता हासिल गरे पनि गलत व्यक्तिलाई बोक्दा सांसद पद नै गुमाउने स्थिति देखिएको छ। ३१ वर्षपछि महोत्तरी– १ मा उदाएको एमालेलाई उनै महतो कोइरीको कानुनी व्यवधानले पहिलो गाँसमा नै ढुङ्गा लागेको हो। मधेस आन्दोलनको समयमा सुरक्षामा खटिएका सुरक्षाकर्मी थमन विकलाई लक्षित गरी हत्या गरेको अभियोग महतोमाथि छ।

उनी उच्च अदालतबाट प्रारम्भिक रूपमा दोषीसमेत ठहर भइसकेका छन् । २५ भदौ २०७२ मा तत्कालीन मधेसी मोर्चाका कार्यकर्ताले लक्ष्मी महतोको नेतृत्वमा हत्या गरेको विभिन्न प्रमाणका आधारमा उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न १९ मङ्सिर, २०७७ मा आदेश दिइसकेको छ। उच्च अदालतले उनलाई पक्राउ गरेर थुनामा राख्ने आदेश दिएको हो।

यसअघि जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले महतोलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर महतोमाथि लागेका आरोपमा यथेष्ट प्रमाण हुँदाहँुदै जिल्ला अदालतले त्रुटिपूर्ण आदेश दिएको भन्दै उच्च अदालतले त्यसलाई बदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्