जीटुजीको मल पुसमा मात्र आइपुग्ने



काठमाडौं । नेपाल–भारत सरकार–सरकारबीच (जीटुजी) सम्झौताको रासायनिक मल पुसमा मात्र आइपुग्ने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यसअघि मङ्सिर महिनाको दोस्रो साता आइपुग्ने जानकारी गराएको थियो । तर, जीटुजी सम्झौताको रासायनिक मल पुसको पहिलो सातासम्म मात्र आइपुग्ने जानकारी दिएको छ।

बर्सेनि धान बालीलाई रासायनिक मलको हाहाकार हुन थालेपछि सरकारले किसानलाई सहज रूपमा रासायनिक मल आपूर्तिका लागि भारत सरकारसँग गत १६ फागुनमा जीटुजीमार्फत रासायनिक मल खरिद गर्ने सम्भौता गरेको थियो । सन् २०२२–०२३ का लागि युरिया १ लाख १० हजार मेट्रिक टन र डीएपी ६० हजार मेट्रिक टन गरी १ लाख ७० हजार मेट्रिक टन मल खरिद गर्ने सम्झौता छ।

यसमध्येको ३० हजार मेट्रिक टन यही मङ्सिरको दोस्रो सातासम्म आइपुग्ने भनेको रासायनिक मल अब पुसमा मात्र आइपुग्ने कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए। उनले ४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मल आयातका लागि पैसा पठाउन समय लागेको हुँदा ढिलो भएको बताए। उनले जीटुजी मल आयातका लागि मलको बोरा प्याकेजिङ भइरहेको जानकारी दिए।

उनले १५ हजार मेट्रिक टन युरिया मल आयात भइरहेको र भारतसँग जीटुजीमा खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल पुस पहिलो सातासम्म आइपुग्ने गरी हाल प्याकिङ भइरहेको बताए। प्रवक्ता सन्जेललका अनुसार देशभरका डिपोमा ४२ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ। आइतबारसम्मको विवरणअनुसार चालू आर्थिक वर्षको ४ महिनामा ८६ हजार २४६ मेट्रिक टन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिक टन मल मौज्दात छ।

कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ मेट्रिक टन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ मेट्रिक टन मल मौज्दात छ। कृषि सामग्री कम्पनीसँग युरिया १५ हजार १७९ मेट्रिक टन, डीएपी १८ हजार ४३२ मेट्रिक टन र पोटास १ हजार ८३७ मेट्रिक टन मौज्दात छ । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार ५८४ मेट्रिक टन युरिया, ८५४ मेट्रिक टन डीएपी र ९५ मेट्रिक टन पोटास मौज्दात छ।

चालू आ.व.को कात्तिकसम्म कृषि सामग्री कम्पनीले ५७ हजार २१२ र कृषि सामग्री कम्पनीले २९ हजार ३३ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । यस्तै, ४५ हजार मेट्रिक टन युरिया मल आयातको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्