दिल्लीमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो



एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ। आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो।

प्रदूषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको छ। वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो।

उक्त विज्ञप्तिमा वायु प्रदूषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ। सो प्रतिवेदनमा नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरू अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ।

सो आयोगको आइतबार अपराह्न ४ बजेको रिपोर्टमा वायु प्रदूषणको मात्रा (एक्युआई) गम्भीर तह अर्थात् चार सय सातमा पुगेको देखाइएको छ।

यो एक्युआई तह दुई सय एक देखि तीन सयसम्म कमजोर अर्थात् खराब, तीन सय एकदेखि चार सयसम्म झन् खराब र चार सय एकदेखि माथि पाँच सयसम्मलाई गम्भीर तह अर्थात घातक मानिएको छ।

दिल्लीमा प्रायः जाडो समय (नोभेम्बरदेखि फेब्रुअरी) सम्म वायु प्रदूषणको मात्रा बढ्ने गरेको पाइन्छ। यसवर्ष अहिले नै यहाँको प्रदूषणको मात्रा गम्भीर तहमा पुगेकाले यस मौसममा वायु प्रदूषणको मात्रा निकै नै बढ्ने संकेत देखिएको हो।

प्रतिक्रिया दिनुहोस्