काठमाडौंमा सुकुमबासीको बिरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालले सहमति र सहकार्यबाट सुकुमबासी व्यवस्थापनको निकास खोज्न माग गरेको छ । मोर्चाले आज विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

गत भदौ ९ गते काठमाडौं महानगरका मेयर बालेन्द्र साह र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको रोहबरमा भएका सम्झौता अनुसार सुकुमबासी व्यवस्थापनमा आशाको दियो बलेकोमा मंसिर १२ गते एक्कासी महानगरपालिकाको डोजर र नगर प्रहरी समेतको टोली सुकुम्बासी उठिबास गर्न बस्ती प्रवेश गरेको मोर्चाले आयोजना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै मोर्चाको आव्हानमा आज काठमाडौंमा सुकुमबासीले प्रदर्शन गरेका छन् । वागमतीलगायत काठमाडौंमा विभिन्न ठाउँमा बसोबास गर्दै आएका सुकुमबासीले विभिन्न ठाउँबाट दबाब र्‍यालीसहित बानेश्वरमा धर्ना दिएका हुन् । प्रदर्शनकारीले भूमिसम्बन्धी कानून, जमिनमाथिको अधिकार सुनिश्चित, विकल्पसहितको बास अधिकार, उठीबासको त्रास अन्त्य गर्न माग गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आव्हानमा प्रदर्शन गरिएको हो । भूमीहिन, सुकुमबासीमाथि दमनकारी शैलीले आफूहरूमा त्रास फैलिएको उनीहरूको भनाइ छ । सुकुमबासी व्यवस्थापनको सवालमा आपसी समझदारी, वार्ता र छलफलको माध्यमबाट सदाका लागि समाधान खोज्न अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्