चीनको ६ दिने भ्रमण पुरा गरी उपराष्ट्रपति पुन स्वदेश फर्किँदै



काठमाडौं: उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण सकेर आज (सोमबार) स्वदेश फर्किंदै छन्। उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सोमबार बिहान ९ः४५ बजे काठमाडौं उत्रने बताइएको छ। उनी ६ दिने भ्रमणका लागि असोज ३ गते चीनको छेन्दु गएका थिए।

उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ सम्बद्ध मुलुकहरुको आर्थिक विकासका लागि सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन गरेका थिए। संबोधनको क्रममा उनले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीहरुलाई अपिल गरेका थिए।

भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव छिङहुवाले शिष्टाचार भेट गरेका थिए। उपराष्ट्रपतिले असोज ३ गते उपप्रधानमन्त्री र असोज ५ गते सिपिसीका सिचुवान प्रान्त सचिवसँगको भेटमा दुई देशको सम्बन्धले नयाँ उचाई हासिल गरिरहेको बताएका थिए। उनले नेपाल समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्दै चीनलाई लगानी तथा सहकार्यका लागि आग्रह गरेका थिए।

भेटघाटमा उपराष्ट्रपतिले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग गर्न नदिने नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस्