हत्यापछि श्रीमतीको टाउको लिएर प्रहरीसमक्ष आत्मसमर्पण



सुर्खेत । सुर्खेतमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले पञ्चपुरी नगरपालिका-३ तोक्मा बस्ने ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले जानकारी दिएका छन् ।

उनले मंगलबार दिउँसो आफ्नी ३० वर्षीया श्रीमती मिना आले मगरको हत्या गरेको आरोप छ। अम्मरले धारिलो हतियार हँसियाको प्रहार गरी हत्या गरेको एसपी विष्टले बताए । उनले श्रीमतीको हत्यापछि टाउको काटेर प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न भनेर हिँडेको प्रहरीले जनाएको छ। बजारसम्म पुगिसक्दा स्थानीयले देखेर सोधिखोजी गरेपछि प्रहरीलाई बोलाइएको थियो ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । एसपी विष्टका अनुसार पक्राउ परेका अम्मरबहादुर गत वैशाखमा मात्रै भारतबाट घर फर्किएका थिए । उनी वैदेशिक रोजगारीको शिलशिलामा ६ वर्ष दुबई, ३ वर्ष मलेसिया र भारतमा ४-५ महिना बसेर फर्किएका थिए । वैदेशिक रोजगारमा कमाएर श्रीमतीलाई पठाएको रकम सकाएको कारणले पनि उनीहरूबीच झगडा हुने गरेको एसपी विष्टले बताए । त्यस्तै फेसबुकमा पनि धेरै समय बिताउने गरेको कारणले शंका पैदा भएकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको विष्टले जानकारी दिए ।

हत्या गरेर टाउको आफैंले झोलामा बोकेर हिँडे पनि बाँकी अरू भाग भने उनले घरमै छाडेका थिए । शवको पोष्टमर्टम गर्न प्रदेश अस्पतालमा पठाएको प्रहरीले छ । यता अम्मरबहादुरमाथि थप अनुसन्धान गर्न कागजी काम गरिरहेको एसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्