रोलरले च्यापेर सडक प्राविधिकको मृत्यु



बुटवल: निर्माणाधीन सडकमा काम गरिरहेको रोलरले च्यापेर एक जना प्राविधिकको मृत्यु भएको छ।  व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकखण्डको निर्माणमा संलग्न प्राविधिकको बिहिबार साँझ ज्यान गएको हो। 

 

सडक आयोजना निर्माण कम्पनी टेलि कम्युनिकेसन इन्डिया लिमिटेड (टिसिआइएल)मा सुपरभाईजर पदमा कार्यरत पाल्पाका २५ वर्षीय प्रविण पाण्डेको मृत्यु भएको हो। उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

 

साँझ करीब सवा ६ बजेतिर तिलोत्तमा नगरपालिकाको मणिग्राम नजिकै सडकमा लगाई रहेको रोलर ब्याक हुने क्रममा च्यापिएर पाण्डे गम्भीर घाइते भएका थिए। 

 

साँझको बेला भएकाले रोलरको पछाडि रहेका पाण्डेलाई चालकले नदेखेका कारण दुर्घटना भएको हुनसक्ने आयोजनाका इन्जिनीयर महेश्वर लम्सालले बताए।

प्रतिक्रिया दिनुहोस्