किराती पर्व उधौली, नेवारमा योम्हरी पुन्ही र थारूमा फकगुई



  • पदम श्रेष्ठ

काठमाडौं । अन्न उत्पादनका लागि प्रकृतिलाई धन्यवाद दिन मनाइन्छ, किराती पर्व उधौली पर्वका बारे थुप्रै किम्वदन्तीहरू पाइन्छन् लोक आख्यानहरूमा । यस्ता थुप्रै किम्वदन्तीहरूमध्येका प्राकृतिक कृषि युगीन पर्वबारे यहाँ उल्लेख गरौँ । एकपल्ट दोलखाका किराती राजाले श्रीपेच पहिरिने भव्य सार्वजनिक सभा राखेछन् ।

बहिनीकै हातबाट भव्य सभामा राजाले श्रीपेच पहिरिने परम्परा चल्दै थियो । अचानक रजस्वला हुन पुगेकी बहिनी सोइसोइला लाज र ग्लानिवश समारोह छाडेर जङ्गल पस्छिन् । ‘दोलोकुम्मा दो सोइसोइला’ भन्दै चेलीलाई जति बोलाउँदा पनि फर्किनन्, यसैबीच हातमा बोकेको श्रीपेच भुइँमा खसी ढुङ्गा बन्न पुगेछ । श्रीपेचको शक्ति ढुङ्गामा छ भन्नेहरू, ढुङ्गा पूजक लिम्बू र श्रीपेचको शक्ति बहिनी सोइसोइलासँगै जङ्गलमा छ भन्नेहरू प्रकृति पूजक खुम्बू (राई) कहलाए ।

मुन्धुम धर्मशास्त्रअनुसार उँभौली र उँधौली पुज्नेहरूमा राई (खुम्बू), लिम्बू, याख्खा, सुनुवारले वैशाख पूर्णिमामा चण्डी नाचेर (साकेला) र मङ्सिर पूर्णिमाका दिन उँधौली (सिल्ली) मनाउँछन् । तर, किरातभित्रकै कुलुङ, जेरो, याम्फूले पुस १५, १६, १७ गते चक्चाकुर नयाँ वर्ष मनाउँछन् । नेवारहरूले योमरी पुन्ही मनाइरहँदा किरातले पनि नयाँ अन्नको परिकार खाँदै सिल्ली मनाउँछन् । यस दिन किरात भूमि पूर्वी नेपालको पहाडी इलाकामा मौलिक हाक्पारे, लङसिङ, केनिसा नाच्ने र किरात धर्मशास्त्र मुन्धुमअनुरूपका फुङ्वा, चोङ्वा, थाक्वाथाक्मा, पाक्लुङलेटमा देवी–देवताको पूजा गरी धनु-काण प्रदर्शन गरिन्छ ।

सिल्ली उधौलीको आख्यानअनुसार आदिकालमा खेती गर्न नजानेका किरातहरू काँचै तरुल, गिठ्ठा, भ्याकुर र जङ्गली जन्तुको मासु खाने गर्दा अनेक रोग लागेर मर्थे । तर, तागेरा देवताले कागुन र धान खेती गरी पकाएर खान सिकाएपछि डाँडाकाँडा नै ढाकिनेगरी जनसङ्ख्या बढेछ । यही खुसियालीमा नयाँ धान वा कागुनको परिकार खाने र साकेला नाची चाखोम्बा, मिसेक, युमासाम, धेवासाम, थुङ्दाङ्वा र सायात्रुदेनका देवी-देवतालाई सुँगुर, कुखुरा, राँगा बलि दिई नयाँ अन्नको परिकार खाइन्छ ।

फगुई पर्व र थारू

भूमिपुत्र थारू समुदायमा पनि यस दिन नयाँ अन्न घर भित्र्याएर पूजा गरिन्छ । नयाँ अन्न भित्र्याएर पूजालाई ‘औली लेना-औली देना’ भनिन्छ । नयाँ अन्नको पिठोबाट झझराँको रोटी देवतालाई चढाएर खाइन्छ । यस दिनलाई थारूमा फगुई भनिन्छ ।

यःमरी पुन्ही (धान्य पूर्णिमा)
‘यःमरी च्वामू उके दुने हाम्ब, बिउसा ल्यासे मब्युसाः बुरिकुती, त्यःछिं त्यः, वकःछिं त्यः, लाटपाटा कुलिंच्यो जुत्छी त्यः, यःमरी च्वामू…’ भन्दै देउसी-भैलो मागेजस्तै मागेर यःमरी खाने परम्परा छ काठमाडौं उपत्यकाका नेवारको । प्रेम, दया, करुणाको भावनात्मक पर्व यःमरी पुन्हीलाई बौद्धहरू पञ्चततत्व (चाकु, तिल, अदुवा, पानी र चामलको पिठो)ले पूर्ण चिवहाः चैत्यका रूपमा लिन्छन् ।

यःमरी खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भनिन्छ । चामलको पिठोभित्र चाकु, तिल, खुवा, अदुवाको रस राखी ममःझैँ बफाएर यःमरी पकाइन्छ । किसानहरू यस दिन चामलको पिठोबाट गणेश, लक्ष्मी, ज्यापू, ज्यापुन्ही, ख्याक, कुवेर आदिका प्रतीकका साथ ल्वंचामरी चढाएर ढुकुटी पूजा गरिन्छ । यःमरी नेवार समाजमा छोरी-चेली २ जीउ हुँदा माइती खलकले धौबजी खुवाउन जाँदा लानुपर्ने चलन छ । बालबालिकाको जन्मोत्सव, विवाह, म्ह पूजा र वृद्ध भएपछि जङ्कुमा पनि यःमरी नभई हुँदैन ।

सासौँ गोभ्रातेश्वर महादेवको खट जात्रा

यःमरी पूर्णिमाका दिन हुन्छ लुभु गोभ्रातेश्वर जात्रा । १ दिनअघि घर लिपपोत गरी शुद्धसँग बनाएको यःमरी काँसको थालमा १ रुपैयाँ दामसहित छुट्याइन्छ भने १ माना चामलसहित पूजाका लागि ल्याउने गोभ्रातेश्वर महादेवलाई चढाइन्छ । यसरी जात्रा गर्दै पूजा थाप्दा महादेवलाई १४ जना द्वारे र १६ जना खड्गीले शुद्धतापूर्वक पूजा गरिन्छ । पूजामा शुद्धता नभए देवता कोफ भई रोगको महामारी फैलिन्छ भन्दै मङ्सिर पूर्णिमाका दिन चोभरी दुवाल ज्यापूहरूले नुहाई-धुवाई पवित्र भई नङ काटी एक्लै सुत्ने सेतो जामा पहिरेर जात्रा चलाइन्छ ।
गोभ्रातेश्वर महादेव स्थानमा दुवाल ज्यापूका पुर्खाले पशुपति दर्शन गर्दा गाईको गोबरमा महादेवले दर्शन दिएकाले गोभ्रातेश्वरलाई नेपाल भाषामा सासौ महाद्यो भनियो ।

थेचो नवदुर्गा गणनृत्य

यःमरी पुन्हीको १ दिनअघि छोयला बु, पोलेको राँगाको मासुलाई नुन-खुर्सानीमा मोली बनेको परिकारसँग भोज खाई ऐतिहासिक थेच्वको नवदुर्गा जात्रा मनाइन्छ । छोयला बु, यःमरी पुन्ही, पिङ्गल जात्रा, मी प्याखँ (कोयलाछी जात्रा), भैलाजु जात्रागरी ५ दिन थेचो नवदुर्गा जात्राका ब्रह्मायणी र बालकुमारी खट जात्रा गरिन्छ ।

१२ वर्षे थेचो नवदुर्गा जात्रा विशेष

पूर्व कर्मनाशा र पश्चिम नख्खुबीचको करिब १३ हजार ५०० रोपनीमा फैलिएको थेचो नवदुर्गा जात्रा वर्ष दिन अगाडि श्रावण कृष्ण त्रयोदशीदेखि तयारी हुन्छ । नवदुर्गा गणमा सिंहिनी, व्याघ्रिनी, वाराही, भैरव, अजिमा (दक्षिणकाली), मनमैँजू (महालक्ष्मी), म्हासुख्वा माजू (ब्रह्मायणी), कुमारी, वामुख्वामाजू, विष्णुदेवी, गणेश, तुयुख्वा माजू (बङ्गालादेवी)को मुकुण्डो, गहना, लुगा र आगद्यो रहेको नवदुर्गा मन्दिरभित्र हाँस, कुखुराको बलि दिई भोज खाइसकेपछि १ महिनासम्म मूल ढोका बन्द गरिन्छ ।

मूल ढोका बन्दपछि थेचोभरि बाजा बजाउन, बिहे–व्रतबन्ध गर्न, इष्टमित्र–आफन्तलाई देश घुमाउन, राति बास बस्न पूर्ण बन्देज लगाइन्छ । भनिन्छ- यस अवधिमा अज्ञात व्यक्ति (दही-चिउरा) खान्छु भन्दै आउने र सोही व्यक्ति देवीलाई बलि दिने कथन थियो । देवी जगाउन लेलेको तीनपानी भञ्ज्याङबाट ‘आगामसिं’ काठ ल्याई चोकमा नृत्य छाप्रो बनाइन्छ ।

सोही रात, सिंहिनी-व्याघ्रिनीलाई थेचोको यामुन्या पोखरीको, भैरवलाई छम्पी दह, क्षणकालीलाई खुल्डोचाबाट र वाराहीलाई बुँलीदह गोदावरीबाट पानी ल्याई चोख्याउने गरिन्छ ।
त्यसैगरी महालक्ष्मी, मनमैँजूलाई यामुन्या पोखरी, विष्णुदेवी बामुख्यालाई धापाखेलको, गङ्गा र गणेशका लागि गलबल ठेचोको जल ल्याई गोप्य पूजा गरी विधिपूर्वक मुकुण्डो र पोसाक लगाउँछन् । यस थेचो नवदुर्गा जात्रा गणनृत्यमा ढल्को क्षेत्रपाटीस्थित इन्द्रायणी पीठ, टोखाको कालिकास्थानमा जस्तै जीवित माछा, भँगेरा, सर्प र बोका दन्दनी बलिरहेको होमस्थलमा दहन गरिन्छ ।

थानकोट महालक्ष्मी जात्रा

यःमरी पूर्णिमाका दिन गोपाली, देसार ज्यापूको आदिभूमि थानकोटमा महालक्ष्मी, महाभैरवीको खटजात्रा हुने गर्छ । राजा अमर मल्लद्वारा ने.सं. ६०४ मा वस्ती रक्षार्थ स्थापित अष्टमात्रिका पीठमध्ये महालक्ष्मीलाई यस देशकी प्रमुख देवी मानिन्छ । आदिनारायणको खट जात्रालगत्तै थालिने महालक्ष्मी जात्रा चाफःटोलका देसार गुथीका भैरवलाई विधिपूर्वक ढुङ्गेसिंह कटाएपछि अगाडि बढ्छ । द्वारे र दुवाल समुदायको सहयोगमा हुने जात्राअघि महालक्ष्मी मन्दिरमा गोपाली कन्याको इही गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्